तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ  । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले समसामयिक राजनीति, विकास निर्माण, राष्ट्रिय एकता, सुरक्षा, सुशासनलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।   

बैठकको आकस्मिक समयमा, नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले डोल्पाको जगदुल्ला हाइड्रोपावरको ठेक्का प्रक्रियामा मिलेमतो र सेटिङ भएको भन्दै यसको छानबिन गर्न माग गर्नुभयो।

उहाँले सरकारी खरिद ऐन र नियमावली विपरीत प्रक्रिया अघि बढाइएको भन्दै सार्वजनिक कामकाज कानुनी प्रक्रिया अनुसार गर्नुपर्नेमा जोड दिनुभयो।

सांसद विमला सुवेदीले काठमाडौँको तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको घटनामा सरकारको ध्यानाकर्षण गराउनुभयो।

उहाँले चालकको लापरबाही र २० वर्षभन्दा पुराना गाडी सञ्चालनको कारण दुर्घटनामा वृद्धि भएको भन्दै समयमै उचित उपाय अवलम्बन गर्न सरकारलाई आग्रह गर्नुभयो।

सांसद प्रभु शाहले तराई–मधेश क्षेत्रमा प्रहरी नागरिकको सुरक्षाभन्दा बढी दुःख दिने कार्यमा संलग्न भएको आरोप लगाउनुभयो।

उहाँले सुरक्षा संयन्त्र सुधार गर्नुपर्ने र नागरिकमैत्री व्यवहारमा ध्यान दिनुपर्ने माग गर्नुभयो।

शून्य समयमा सांसदहरूले भारत–पाकिस्तान सम्भावित युद्ध सन्दर्भमा गोरखा सैनिकलाई पहिलो चरणमा प्रयोग नगर्न वातावरण निर्माण गर्न र भारत तथा पाकिस्तानमा रहेका नेपालीको सुरक्षामा नेपाल सरकारले चासो दिनुपर्ने धारणा राख्नुभयो।

उहाँहरूले यस्तो युद्धको असर नेपालमा पनि पर्न सक्ने भएकाले राष्ट्रिय सुरक्षा र नागरिक संरक्षणमा पूर्वतयारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

सांसदहरूले पहाडी जिल्लामा खानेपानी अभाव रहेको, उपलब्ध ठाउँमा पनि महँगो महसुलका कारण परियोजना सञ्चालनमा समस्या आइरहेको बताएका छन्।

त्यस्तै, धान रोप्ने समयमा मलको अभाव भई किसानहरू समस्यामा परेको भन्दै, सांसदहरूले पर्याप्त मलको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button