तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री आचार्यसँग नेपालका लागि स्विजरल्याण्डका राजदूतको शिष्टाचार भेट

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग नेपालका लागि स्विजरल्याण्डका राजदूत डा.ड्यानिएल मेउलीले आज शिष्टाचार भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा उहाँहरुबीच आज भएको भेटवार्तामा मुख्यमन्त्री आचार्यले सङ्घीयताको सुदृढीकरण र विकासका लागि स्विस सरकार तथा साझेदार संघसंस्थाबीच अझ सघन सहकार्य आवश्यक रहेको बताउनुभयो ।

प्रदेश सरकार आत्मनिर्भरताको बाटोमा अघि बढिरहेको उल्लेख गर्दै उहाँले स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा अझै साझेदारीको खाँचो रहेको धारणा व्यक्त गर्नुभयो ।

“यहाँहरूको तर्फबाट अहिलेसम्म स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा गरिएको योगदानको सरकारले उच्च मूल्याङ्कन गर्छ । आगामी दिनमा पनि यी क्षेत्रले प्राथमिकता पाउनेछन् भन्नेमा हामी विश्वस्त छौँ ।”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “लुम्बिनी प्रदेश द्वन्द्वको समयमा राज्य र विद्रोही दुवै पक्षबाट पीडामा परेको क्षेत्र हो । यस प्रदेशमा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम अघि बढाएकोमा म धन्यवाद व्यक्त गर्दछु । अहिले प्रदेश सरकारले मानसिक स्वास्थ्य रणनीतिक योजना बनाएर अघि बढेको अवस्था छ ।” मुख्यमन्त्री आचार्यले प्रदेश सरकार आत्मनिर्भरतातर्फ अघि बढिरहेको सन्दर्भमा मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सकहरूको व्यवस्था र निरन्तरताका लागि सहयोगको प्रस्ताव पनि गर्नुभयो ।

पालका लागि स्विजरल्याण्डका राजदूत डा. ड्यानिएलले स्विस सरकारले नेपालमा संघीय शासन व्यवस्थाको संस्थागत विकासका लागि प्रदेशको क्षमता विकासमा साझेदारी गर्दै आएको बताउनुभयो । सुरक्षित आप्रवासन, मानसिक स्वास्थ्य र प्राविधिक शिक्षामा प्राथमिकताका साथ साझेदारी जारी रहेको जानकारी दिँदै उहाँले आगामी दिनमा प्राविधिक शिक्षामा पहुँच बढाउँदै थप सहकार्य गर्न सकिने उल्लेख गर्नुभयो ।

“प्राविधिक शिक्षा र बजारको तालमेल मिलाउन जरुरी छ । प्रदेश तहमा प्राविधिक शिक्षा ऐनको आवश्यकता महसुस गरिएको छ”, राजदूत मेउलीले भन्नुभयो, “साना तथा मझौला व्यवसाय विकासका लागि पनि प्रदेश तहमा काम हुँदै आएको छ ।”

सो अवसरमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, लुम्बिनी प्रदेशका निमित्त प्रमुख सचिव ईश्वरराज पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button