‘नीति तथा कार्यक्रमले दिगो आर्थिक विकासको लक्ष्य लिएको छ’
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले नीति तथा कार्यक्रमले दिगो आर्थिक विकासको लक्ष्य लिएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी सांसदहरुले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको, विकासको ढाँचा बदल्ने सङ्कल्प लिएको बताउनुभयो ।
सांसदहरुले विगतका नीति तथा कार्यक्रममा आएका विषय कार्यान्वयन नहुँदा जनतामा नैराश्यता पैदा भएको अवस्थालाई अन्त्य गर्न अहिले प्राथमिकता तोकेर कार्यान्वयन गर्न सकिने विषय नीति तथा कार्यक्रममा समेटिएको बताउनुभयो ।
यस्तै सांसदहरुले आर्थिक सामाजिक रूपान्तरण, दीर्घकालीन राजनीतिक स्थिरता, सुशासन र न्यायपूर्ण समाज, आर्थिक विकासलाई प्राथमिकता दिएकोले यसको प्रभाकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै सांसदहरुले नीति तथा कार्यक्रमले सुशासन प्रवर्द्धन, उच्च आर्थिक वृद्धि र जनअपेक्षा सम्बोधन गर्न नसक्ने भन्दै सदनमा छलफलका क्रममा आएका सुझावलाई सकारात्मक रुपमा लिएर संशोधन गर्न पनि आग्रह गर्नुभयो ।
बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफल नसकिएकाले आगामी बैठकमा समेत छलफल जारी रहने र प्रधानमन्त्री केपी शर्मा ओलीबाट जवाफ दिने गरी निर्धारण गरिएको जानकारी गराउनुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक वैशाख २८ गते आइतबार दिउँसो १ः१५ बजे बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्