तपाईँ सुन्दै हुनुहुन्छः

विश्व शेर्पा सङ्घको बैठकद्वारा महत्वपूर्ण निर्णयहरू पारित

काठमाडौँ ।  विश्व शेर्पा सङ्घको मे ४, २०२५ मा बसेको नियमित बैठकले शेर्पा समुदायको संस्कृति, पहिचान र एकता सुदृढ गर्न विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ। संघका अध्यक्ष श्री थेन्डुप शेर्पाको अध्यक्षतामा सम्पन्न बैठकले समुदायको हित र सांस्कृतिक संरक्षणलाई प्राथमिकता दिँदै निम्न निर्णयहरू गरेको छ।

बैठकले शेर्पाहरूको उपनाम ‘रु’ सम्बन्धी अध्ययनका लागि गठित समितिलाई बजेट उपलब्ध गराई स्थलगत अध्ययनमार्फत प्रतिवेदन तयार गर्न तत्काल काम शुरु गर्ने पनि निर्णय गरिएको छ। साथै, शेर्पाहरूको उपनाम ‘रु’ लाई नामको बिचमा (मध्यनाम) को रुपमा प्रयोग गर्न समुदायलाई अनुरोध गरिएको छ। उदाहरणका लागि, दावा सलाका शेर्पा, यो निर्णयले शेर्पा पहिचानलाई थप स्पष्ट र एकरुपता प्रदान गर्ने विश्वास गरिएको छ।

शेर्पाहरूको धार्मिक, सांस्कृतिक कार्य, पूजापाठ आदि हुने गुम्बा र अन्य स्थानहरूमा शेर्पा भाषा र परम्परागत पोशाकको प्रयोगलाई प्राथमिकता दिई भाषा र संस्कृतिको संरक्षण गर्न समुदायलाई आह्वान गरिएको गर्ने र शेर्पा समुदायले आफ्ना बालबच्चाको नामाकरण गर्दा शेर्पा धतोग् पात्रो अनुसार लामा गुरुले राख्ने नामलाई वास्तविक नामको रुपमा प्रयोग गर्न अनुरोध गरिएको छ। यो कदमले शेर्पा परम्परालाई जीवन्त राख्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

विश्व शेर्पा संघका महासचिव आङ जाङ्बु शेर्पाले यी निर्णयहरुले शेर्पा समुदायको सांस्कृतिक पहिचान र एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सम्पूर्ण शेर्पा समुदायलाई यी निर्णयहरू कार्यान्वयनमा सहयोग पुर्‍याउन अपिल समेत गर्नुभएको छ।

त्यस्तै गरि बैठकले शेर्पा किदुग न्युयोर्कका पुनः निर्वाचित अध्यक्ष श्री तेम्बा शेर्पा, अल इन्डिया बुद्धिस्ट शेर्पा एशोसियसनका नवनिर्वाचित अध्यक्ष श्री दोर्जी पिनासा शेर्पा र नेपाल शेर्पा महिला सङ्घकी नवनिर्वाचित अध्यक्ष श्रीमती थाक्ची शेर्पा र उहाँहरूका कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

त्यसैगरि हालसम्म भएका संघका निर्णयहरूको कार्यान्वयनको अवस्थाबारे समीक्षा गरिएको छ। यसले आगामी योजनाहरूलाई थप प्रभावकारी बनाउन मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button