राष्ट्रिय विपदमा सहकारीको भुमिका महत्वपूर्ण हुन्छ: मन्त्री अर्याल
काठमाडौ-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कोरोना भाईरसको सन्त्रासले निम्त्याएको विपदको घडीमा राष्ट्रव्यापी संजाल रहेको सहकारी संस्थाहरुले नागरिकहरुमा राहत र सही सूचनाको संप्रेषणमा सहजिकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
६३ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आज एक शुभकामना बक्तव्य जारी गर्दैै मन्त्री अर्यालले सम्पूर्ण सहकारी संघसंस्था, सहकारीकर्मी र सहकारी अभियानमा सम्लग्न सरोकारवाला र सहकारी क्षेत्रमा कार्यरत सवै कर्मचारीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपालको सहकारी अभियान ६२ वर्ष पुरा गरेको अवसरमा सहकारी संघसंस्थाहरुलाई आर्थिक, सामाजिक र साँस्कृतिक उन्नयन तथा सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणमा योगदान पुग्ने गरी समन्वयात्मक रुपमा सक्रियताका साथ क्रियाशिल हुन पनि मन्त्री अर्यालले अनुरोध गर्नुभएको छ ।
स्वावलम्बन र पारस्परिकताको माध्यमवाट छरिएर रहेको पुँजी, प्रविधि र प्रतिभालाई एकीकृत गरी आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नयन गर्ने विशेष व्यावसायिक विधि सहकारी अभियानले समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्य पूरा गर्न सहयोग पुग्नेमा विश्वास गर्दै मन्त्री अर्यालले संविधानले परिकल्पना गरेबमोजिम सहकारी क्षेत्रलाई अझ बढी प्रतिस्पर्धी तथा आर्थिक विकासको महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सहकारीको पहुँच नपुगेको दुर्गम गाउँ र विपन्न वर्गलाई सहकारीतामार्फत स्वारोजगारका अवसर दिलाई जीविकोपार्जनका आधारहरु सवल र फराकिलो बनाउन उनीहरुमा रहेको स्रोत, साधन र सीपको समुचित परिचालनमा सहयोग पु¥याउन जरुरी भएको बताउँदै मन्त्री अर्यालले आगामी दिनमा मुलुकको अर्थतन्त्रमा सहकारीको योगदान बढाउन सहकारी अभियान थप क्रियाशिल हुँदै जानेमा पनि विश्वास व्यक्त गर्नुभयो ।
नेपालको पहिलो सहकारी संस्था“वखान“ स्थापना भएको ऐतिहाँसिक दिनको सम्झना गर्दै हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।







प्रतिक्रिया राख्नुहोस्