जनअपेक्षाअनुसार काम गर्न सबैले हातेमालो गरौँ : मन्त्री शाही

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सरकार एक्लैले मात्र जनअपेक्षाअनुसार काम गर्न नसक्ने भन्दै सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ ।
छायाँ नेपालको १०औँ वार्षिकोत्सवमा अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाइ, खानेपानी, विपद् व्यवस्थापनलगायत क्षेत्रमा गैरसरकारी क्षेत्रको भूमिका पनि महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
मन्त्री शाहीले भन्नुभयो, “मुलुक समृद्धिका लागि हामीसँग अपार सम्भावना छन्, त्यसलाई साकार बनाउन सरकारसँगै हातेमालो गर्न सबैलाई आग्रह गर्दछौँ । यसमा युवा वर्गको सक्रियता र भूमिका झन महत्त्वपूर्ण छ ।”
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले राज्यले अपेक्षाअनुसार गर्न र पुग्न नसकेका स्थान र क्षेत्रमा छायाँ नेपालले शिक्षा र स्वास्थ्यमा गरेका कामको प्रशंसा गर्नुभयो ।
छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापा र कार्यकारी सहायक प्रियङ्का ठाकुरले संस्थाको स्थापना, उद्देश्य, उपलब्धि र भावी योजनाका बारेमा अवगत गराउनुभएको थियो ।
त्यसैगरी, सिजिइडीका अध्यक्ष डा माधव कार्की, छायाँ नेपालका अध्यक्ष सृष्टि सिलवाललगायतले गैरसरकारी निकायले गर्नुपर्ने कामका बारेमा सरकारले सहजीकरण गरेमा जनअपेक्षाअनुसार काम गर्न सकिने धारणा व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्