‘जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध’
जुम्ला । खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको जुम्ला जिल्लावासीका समस्याको दीर्घकालीन, दिगो र प्रभावकारी समाधानका लागि संघीय सरकार पूर्णतः प्रतिबद्ध रहेको बताउनुभएको छ ।

जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाको आयोजनामा सञ्चालित संयुक्त बृहत् वास सम्मेलन तथा देवारगाँउ तल्लो बस्ती पूर्ण सरसफाई उन्मुख घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाली भाषाको उत्पत्ति भएको जिल्ला इतिहासको पानामा नाम लेखाएको जुम्ला जिल्लालाई विकासमा पछि नपारिने बताउनुभयो ।
यसैगरी मन्त्री यादवले विभिन्न कला, संस्कृतिको धनी जिल्ला जुम्लाको विकासका लागि आफ्नो पूर्ण साथ र सहयोग रहने तथा यहाँका नागरिकलाई शुद्ध, स्वच्छ अनि सफा पानी वितरण गर्ने आफ्नो जिम्मेवारी भएको बताउनुभयो । रु १ अर्ब २५ करोडको लागतमा निर्माण भइरहेको जुम्लाको धौलीगाढ खानेपानी आयोजना एक वर्षमै निर्माण सम्पन्न हुने मन्त्री यादवको भनाई थियो ।
जुम्लाका नागरिकहरूका सडकका समस्या समाधानका लागि आफूले माथिल्लो निकायसम्म पहल चाल्ने आश्वासन दिलाउनुभयो । जुम्लाको अर्ग्यानिक एवं पौष्टिक तत्वले भरिपूर्ण जुम्ली स्याउ अब स्वदेशमा मात्रै सीमित नभएर विदेशमा पनि निर्यात गर्नु पर्ने मन्त्री यादवको भनाई छ ।
जुम्ला जिल्लामा सञ्चालनमा रहेका खानेपानी योजनाहरूलाई शीघ्र सम्पन्न गरी शुद्ध, सुरक्षित र भरपर्दो खानेपानी सहज रूपमा उपलब्ध गराउने वातावरण निर्माण गरिने मन्त्री यादवले प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा बोल्नु हुँदै सभाको अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासङ्घका उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले संघीय सरकार र स्थानीय तहबीच गहिरो समन्वय र सहकार्यका साथ जुम्लाको समृद्धि र विकासमा नयाँ युगको सुरुवात गर्ने दृढ अठोट रहेको बताउनुभयो ।
कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्य, सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल लगायतले जुम्लाको विकासका लागि सबै एकजुट हुनु पर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव इन्जिनियर प्रमीलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाह लगायतको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्