केपी ओली कप: हिमाल फ्रेन्ड्स सेमिफाइनलमा प्रवेश

पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० खुल्ला राष्ट्रिय क्लब स्तरीय क्रिकेट प्रतियोगितामा हिमाल फ्रेन्ड्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको समूह ‘सी’ को अन्तिम खेल वर्षाका कारण रोकिएपछि हिमाल फ्रेन्ड्सले डकवर्थ लुइस स्टर्न मेथड (डिएलएस) को आधारमा ३ रनले मधेश प्रदेशलाई हराउँदै समूह विजेता बन्न सफल भएको हो ।
चार टिम रहेको समूह ‘सी’ को अन्तिम चरण अन्तरगतको पहिलो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले कर्णाली एकेडेमीलाई ५ विकेटले पराजित गर्यो । १०२ रनको विजयी लक्ष्य पाएको लुम्बिनीले १७ ओभरमा ५ विकेटको क्षतिमा १०२ रन बनायो । तुलबहादुर थापाले २८ रनको अविजित पारी खेल्दै उहाँले २ चौका र २ छक्का प्रहार गर्नुभयो । सन्दिप राजालीले २७ रनमा अविजित रहनु भयो उहाँले १ चौका र १ छक्का प्रहार गर्दा ओपनर देव खनाल २ रनमै आउट हुनुभयो । रन्जित खत्रीले २१, प्रज्वल थापा ६, निश्चल चौधरी ७ र मोहम्मद हुसेन ८ रनमा आउट हुँदा कर्णालीका लागि नरेन्द्र सन्जाल र सुवास भण्डारीले २/२ तथा कृष्ण कार्कीले १ विकेट लिनुभयो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै १०१ रन बनायो । कर्णालीका लागि सुवास भण्डारीले २६ रनको योगदान दिनुभयो । उहाँले ५ चौका प्रहार गर्नुभयो । सौरभ सकर्मीले २३ रन, विपिन शाहीले १९ तथा कृष्ण कार्कीले १३ रनको योगदान दिनुभयो ।
लुम्बिनीका लागि एकलाख अहमेदले ४ विकेट, अजय कुमार चौहानले ३ विकेट, मोहम्मद हुसेन र सन्देश थापाले १/१ विकेट लिनुभयो । खेलको प्लेयरअफ दी म्याच एकलाख अहमेद घोषित हुनुभयो ।
दोस्रो खेलमा बर्षाले प्रभावित हुँदा ११ ओभरको खेल सकिँदासम्म मधेश ६४ रन बनाउँदा ४ विकेट गुमाएको स्थितिमा थियो । वर्षाका कारण हिमाल फ्रेन्स डीएल मेडथ अनुसार ३ रनले विजयी भयो । खेल रोकिनु अघि मधेशका ओपनर रोहन विकले ३० रनको योगदान दिनुभयो । उहाँले ४ चौका प्रहार गर्नुभयो । रवि सिंहले १८ रन जोड्नुभयो ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको हिमाले फ्रेन्डसले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनायो । आयुव चन्दले सर्वाधिक ३६ रनको योगदान दिनुभयो । उहाँले ६ चौका र १ छक्का प्रहार गर्नुभयो । मधेशका लागि विशाल सुस्लिङले ३ विकेट, रुपेश सिंह र प्रदीप पासवानले समान २/२ विकेट लिनुभयो । खेलको प्लेयर अफ दी म्याच दिपक रोकाया घोषित हुनुभयो ।
हिमाल फ्रेन्ड्सको कुल ३ खेलबाट २ जित सहित कुल ५ अंक आफ्नो खातामा जम्मा गर्न सफल भयो । समान खेल खेलेको लुम्बिनी २ जित १ हारसहित ४ अङ्कका साथ दोस्रो स्थानमा रह्यो । ३ खेलमा १ जित १ हार सहित कर्णालीको ३ अंक रहँदै तेस्रो स्थानमा रहँदा ३ खेलमै हार व्यहोरेको मधेश अङ्कविहीन हुँदै बाहिरियो ।
प्रतियोगितामा यस अघि काठमाडौँ, गण्डकी हिरोज सेमिफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिताको दशौं दिन भोलि समूह ‘डी’ तर्फको सुन्दर हेरचाह आईसिसी र आत्रेय क्रिकेट क्लबबिच पहिलो तथा मालपोखरी क्रिकेट क्लब र होरिजोन क्रिकेट क्लब बिच दोस्रो खेल हुने एकेडेमीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्