तपाईँ सुन्दै हुनुहुन्छः

काँकरभिट्टा नाकामा भारतीय सवारी साधनमा स्टिकर टाँस्ने अभियान सुरु

झापा । कोशी प्रदेश सरकारले नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टा नाकामा पर्यटकीय सवारी साधनमा स्टिकर टाँस्ने अभियान सुरु गरेको छ ।

आज काँकरभिट्टा नाकाबाट कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले अभियानको शुभारम्भ गर्नुभयो । उहाँले भारतीय नम्बर प्लेट डब्लु. बी. ७४ ए ०६६३४ को सवारी साधनमा स्टिकर टाँसेर शुभारम्भ गर्नुभएको हो ।

मन्त्री भण्डारीले सो सवारीसाधनमा सवार भारतीय पर्यटकहरूलाई रुद्राक्षको माला र खादा पहिर्याएर स्वागतसमेत गर्नुभयो । उहाँले भारतीय पर्यटक बोकेको सवारीले झेल्दै आएको समस्या सुरक्षा जाँच स्टिकरले समाधान गर्ने बताउनु भयो ।

२०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकलाई सहज र सरल यात्रा अनुभव प्रदान गर्न यो अभियान सुरु गरेको जनाएको छ ।

नाकामा सुरक्षा जाँच स्टिकर टाँसिसकेपछि नफर्कुन्जेल र कानुन विपरीतका काम नगरेसम्म बाटोमा प्रहरीले रोक्न नपाउने प्रदेश सरकारले व्यवस्था गरेको छ । काँकडभिट्टाबाटै रोड पर्मिट पनि प्राप्त हुने भएपछि यसअघि भारतीय पर्यटकले बेहोर्दै आएको झन्झटबाट मुक्त भएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स नाट्टा कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठले बताउनु भयो ।

भारतबाट आउने पर्यटकलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो आएपछि अभियानलाई कोशी प्रदेशभरि लागू गर्न लागिएको हो । स्टिकर टाँसेका सवारीलाई नाकामा एकपटक जाँच गरेपछि अन्य स्थानमा प्रहरीले जाँच गर्न नपाउने व्यवस्था गरिएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button