संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमानका पक्षमा सरकार क्रियाशील छ : मन्त्री गुरुङ
लुम्बिनी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकका दुई ठूला राजनीतिक दलको सहमतिमा निर्माण भएको वर्तमान सरकारको प्रमुख प्राथमिकता संविधान संशोधनसहित नागरिकलाई सुशासन दिने र अर्थतन्त्रलाई चलायमान बनाउने रहेकाले सोही अनुसार काम भइरहेको बताउनुभएको छ ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले आज भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आम जनताको अपनत्व हुनेगरी संविधान संशोधन प्रक्रिया अघि बढेको र सुशासन कायम गर्नेगरी काम भइरहेको बताउनुभयो ।
उहाँले सत्ताघटक दुई ठुला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरू सम्मिलित कार्यदलले संविधान संशोधनका विषय पहिल्याउने गरी काम गरिरहेको जानकारी दिनुभयो । सञ्चारमन्त्री गुरुङले प्रारम्भिक चरणमा संविधानका सबल र दुर्बल पक्षमा छलफल गरी संशोधन गर्नुपर्ने विषय पहिचान गरी त्यसमा अन्य सत्तारूढ दलहरूसँगको छलफलपछि साझा अवधारणासहित प्रतिपक्ष दलहरूसँग समेत छलफल गरी मुलुकका सबै राजनीतिक पार्टीहरूको सहमतिमा संविधान संशोधन गरिने स्पष्ट गर्नुभयो ।
उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन सरकारका तर्फबाट आवश्यक गृहकार्यसहित तयार गरिएको १० बुँदे कार्ययोजना कार्यान्वयनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जुटिरहेको जानकारी दिनुभयो । सञ्चारमन्त्री गुरुङले अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्यसको सञ्चालनमा सरकार नै लाग्नुपर्छ भनेरै १० बुँदे कार्ययोजना पारित गरेको पनि बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्