तपाईँ सुन्दै हुनुहुन्छः

तिलाबे नदीको पुल बर्षायाम अगाडी नै मर्मत हुन्छ : मन्त्री चौरसिया 

बीरगंज । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले वीरगंजलाई पर्सा जिल्लाको ग्रामीण क्षेत्रसँग जोड्ने गण्डक नहरस्थित तिलाबे नदीको पुल बर्षायाम अगाडी नै मर्मत गरी सञ्चालनमा आउने बताउनुभएको छ । 

वीरगंज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमामा पर्ने गण्डक नहर सडक खण्डको तिलाबे नदीको पुलको बीच भागको एउटा पिलर भाँचिएसँगै बिगत ६ महिनादेखि पुलबाट आवतजावत ठप्प भएको थियो । 

तत्काल समस्या समाधानका लागि डाइभर्सन निर्माण गरी यातायात सञ्चालन, नदीबाट हँुदै आएको भए पनि बर्षायाममा नदी आरपार गर्न स्थानीयलाई समस्या हुने देखिएपछि त्यसको समाधानका लागि कानुन मन्त्री चौरसियासहित सडक विभागका डिजी, स्थानीय प्रशासनको टोलीले आज पुलको स्थलगत निरीक्षण तथा अवलोकन गरेको छ । 

मन्त्री चौरसियाले तत्काल पुल मर्मत कालागि नेपाल सरकारले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पुल निर्माण कार्य गर्न लागेको जानकारी दिनुहुँदै आजै जिल्ला सुरक्षा समिति पर्साको बैठक बसेर पुल निर्माणका लागि सरकारलाई सिफारिस समेत गरेको जानकारी दिनुभयो । 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा सम्पन्न जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा मन्त्री चौरसीया, प्रदेशसभा सदस्य श्याम पटेल लगायतका जनप्रतिनिधि तथा जिल्लास्थित स्थानीय प्रहरी प्रशासनका प्रमुखहरुको सहभागिता रहेको थियो । 

गण्डक नहरमा पर्ने तिलाबे नदीको पुलको १३ वटा पिल्लर मध्ये बिचको एउटा पिल्लर भाँच्चिँदा पुल नै आवतजावत गर्न नसक्ने स्थितिमा पुगेको छ ।  

बैठकमा मन्त्री चौरसीयाले गर्मियाममा आगलागीका घटना र बर्षायाममा बाढि पहिरो तथा डुबानका घटनाले पर्सा जिल्ला प्रभावित हुँदै आएको हुँदा विपद् व्यवस्थापन केन्द्र तयारी अवस्थामा बस्नुपर्ने कुरामा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button