तपाईँ सुन्दै हुनुहुन्छः

सीमाना क्षेत्रमा कुखुराजन्य पदार्थमा कडा निगरानी, सेतो अण्डा धमाधम नष्ट गरिँदै

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध ढङ्गले भारतबाट भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, कैरेट, कार्टुन र भ्याक्सिनको नियन्त्रणमा लिनका लागि निर्देशन दिएपछि सुरक्षाकर्मीहरूमा नियन्त्रणमा सक्रिय भएका छन् । 

सशस्त्र प्रहरी बलले भारतबाट अवैध रूपमा ल्याइएको सेतो अण्डा बरामद तथा नष्ट गर्ने क्रमलाई पछिल्लो समयमा तीव्र दिइएको छ । सशस्त्र प्रहरी बलले प्रदेशका आठवटै जिल्लामा दैनिकजसो सेतो अण्डा बरामद गरी नष्ट गर्ने गरेको सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले जानकारी दिनु भएको हो । 

हिजो बुधबार सिरहाबाट २४ क्यारेट, सर्लाहीबाट ३२ क्यारेट र रौतहटबाट ४० क्यारेट गरी ९६ क्यारेट सेतो अण्डा बरामद गरेर नष्ट  गरेको छ । सशस्त्र डिआइजी धौवजीले सशस्त्र प्रहरी बलले नियमित रूपमा गर्दै आएको सेतो अण्डा ओसारपसार नियन्त्रण कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको जानकारी दिनु भयो । 

भारतबाट अवैध रूपमा भित्रिने त्यस्ता वस्तुका कारण व्यवसायमा समस्या भएको, भारतका विभिन्न प्रान्तमा देखापरेका बर्डफ्लु भित्रिने जोखिम उच्च रहेकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात नियन्त्रण गर्नुपर्ने माग गर्दै  नेपाल लेयर्स कुखुरापालक सङ्घले बुधबार मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएको थियो ।

खास गरेर भारतबाट सेतो अण्डा तथा कुखुराजन्य पदार्थ आयात कानूनी रुपमा निषेध रहेको छ । तर पनि चोरी लुकी आउने क्रम जारी रहेको छ । नेपाल भन्दा सस्तो भारतमा हुने भएकाले चोरी पैठारी हुने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button