मोहर्रम पर्व आज मनाइँदै, बाँकेका तीन स्थानीय तहमा सार्वजनिक बिदा
बाँके। इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व मोहर्रम आज विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाइँदै छ। इस्लामी नयाँ वर्ष १४४८ हिजरीको प्रारम्भसँगै सुरु हुने यो पर्व मुस्लिम समुदायले दस दिनसम्म श्रद्धा, आस्था र सम्मानका साथ मनाउने परम्परा रहेको छ।
बाँकेको नेपालगञ्ज, जानकी, खजुरा, कोहलपुर, बैजनाथ, डुडुवा, राप्तीसोनारी तथा नरैनापुरलगायत क्षेत्रमा गत नौ दिनदेखि जुलुस, जल्सा, फातिहा तथा अन्य धार्मिक कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

नेपाली कांग्रेसका नेता तथा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँका अनुसार मोहर्रम अन्यायविरुद्धको संघर्ष, सत्यको पक्षमा अडिग रहने दृढता तथा बलिदानको स्मरण गर्ने पर्व हो। उहाँले इराकको कर्बलामा शहादत प्राप्त गरेका पैगम्बर हजरत मोहम्मदका नाति इमाम हुसैनको सम्झनामा मुस्लिम समुदायले दस दिनसम्म विभिन्न धार्मिक कार्यक्रम आयोजना गर्ने गरेको बताउनुभयो।
मोहर्रम महिनाको पहिलोदेखि दशौँ दिनसम्म विभिन्न धार्मिक अनुष्ठान गरिन्छ। यस अवधिमा इमाम हुसैनको सम्झनामा ताजिया राख्ने परम्परा रहेको छ। पाँचौँ दिन ढोल मिलान, छैटौँ दिन मेहन्दी जुलुस, सातौँ दिन अलम जुलुस, आठौँ दिन मातम, नवौँ दिन ताजिया स्थापना गरी श्रद्धालुहरू रातभर जाग्राम बस्ने गर्दछन्।
मोहर्रमको अन्तिम दिन अर्थात् आशुराको अवसरमा आज बाँकेको फुल्टेक्रास्थित कर्बलामा बाजागाजासहित ताजिया विसर्जन गरिने कार्यक्रम रहेको छ। यससँगै दस दिनसम्म सञ्चालन भएका धार्मिक कार्यक्रम औपचारिक रूपमा सम्पन्न हुनेछन्।

मोहर्रम पर्वको अवसरमा जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएका छन् भने डुडुवा गाउँपालिकाले सामुदायिक बिदा घोषणा गरेको छ।
जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ र प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायद्वारा जारी संयुक्त विज्ञप्तिमा मोहर्रमको अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्दै गाउँपालिकाभित्र सार्वजनिक बिदा दिइएको उल्लेख छ। विज्ञप्तिमा धार्मिक सहिष्णुता, सामाजिक एकता र आपसी सद्भाव सुदृढ बनाउन यस्ता पर्वको महत्वपूर्ण भूमिका रहने जनाइएको छ।
त्यसैगरी नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहद्वारा जारी विज्ञप्तिमा गाउँपालिका अन्तर्गतका कार्यालय तथा विद्यालयमा सार्वजनिक बिदा दिइएको उल्लेख छ। स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले स्वास्थ्य संस्थाहरू भने नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।
इस्लामिक पात्रोको पहिलो महिना मोहर्रमको दशौँ दिनलाई ‘आशुरा’का रूपमा मनाइन्छ। यही दिन कर्बलाको मैदानमा इमाम हुसैनले अन्याय र अत्याचारविरुद्ध संघर्ष गर्दै शहादत प्राप्त गर्नुभएको स्मरण गरिन्छ। उहाँको बलिदानलाई सत्य, न्याय र मानवताका लागि गरिएको सर्वोच्च त्यागका रूपमा लिने गरिन्छ।
मोहर्रमको अवसरमा स्थानीय तहहरूले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम राख्न सबै नागरिकलाई आ–आफ्नो स्थानबाट योगदान गर्न आग्रह गरेका छन्। विविधताभित्रको एकता नेपाली समाजको विशेषता भएको उल्लेख गर्दै उनीहरूले मोहर्रमले शान्ति, सद्भाव र मानवताको भावना अझ सुदृढ बनाओस् भन्ने शुभकामना व्यक्त गरेका छन्।







प्रतिक्रिया राख्नुहोस्