महायज्ञका लागि दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूकाे आपत्ति
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूले आपत्ति जनाउनुभएको छ ।

बैठकको आकस्मिक समयमा सांसदहरुले महायज्ञको नाममा जातीय विभेद गर्नेलाई कारवाहीको दायरामा ल्याउन र पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गर्नुभयो ।
यही चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक डोमको घर भत्काइएको हो । पीडित परिवार अहिले त्यहाँबाट विस्थापित भएको छ ।
सांसदहरु जीवन परियार, मनिश झा, अब्दुल खाँन, अमरेशकुमार सिंह, सम्झना थपलिया, रणेन्द्र बराइली, अशोककुमार चौधरी लगायत, प्रभु हजारा सिरहा औराहा गाउँपालिकामा महायज्ञ गर्ने नाममा बसोबास गरिरहेका डोम जातीका व्यक्तिहरूलाई हटाएको भन्दै उनीहरूको न्यायका लागि माग गर्नुभयो ।
सांसद गोकुलप्रसाद बास्कोटाले काभ्रेको बेथानचोकमा तीन दिन देखी आगलागी भइरहेको र आगलागी गाउँतर्फ बढिरहेको भन्दै समयमा नै आगलागी नियन्त्रणका लागि माग गर्नुभयो ।
उहाँले साँगादेखि धुलिखेलसम्मको सडकमा धुलोका कारण हिँडडुल गर्न कठिन भएको भन्दै दिनमा दुई पटक पानी हाल्ने काम गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद गंगा कार्की र मनिस झाले सिन्धुपाल्चोकको तातोपानी नाकाबाट काठमाडौँ आइरहेको ट्रकमा अवैध रुपमा ल्याइएको भेपसहित चालकलाई नियन्त्रण लिइएको विषय जानकारी गराउँदै यस विषयमा प्रभावकारी अनुसन्धान गर्न माग गर्नुभयो ।
सांसदहरुले काठमाडौँको टोखाबाट युरो र डलर गरेर करिब २५ करोड बराबरको अवैध रकम ट्रकमा भेटिएको विषयमा प्रभावकारी छानबिन गरी दोषीलाई कारबाही दायरामा ल्याउन माग गर्नुभयो ।
सांसद रमा कोइराला पौडेलले नेपाल शिक्षक महासङ्घको माग सम्बोधन गरी शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारसँग माग गर्नुभयो ।
सांसद रामहरि खतिवडाले पूर्व राजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाही गर्न माग गर्नुभयो ।
सांसद ठाकुरले ऊर्जा मन्त्री दीपक खड्काले लोडसेडिङ हुन्छ भनेर दिएको अभिव्यक्ति र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुन दिन्न भनेर दिएको अभिव्यक्तिले नागरिकमा दुबिधा पैदा गरेकाले दुई खालका सूचना बाहिर नल्याउन आग्रह गर्नुभयो ।
सांसदहरुले संविधान विपरीत भइरहेका सम्पूर्ण कार्यहरू बन्द गर्न माग समेत गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्