तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा लेबलिङ र प्याकेजिङ सम्बन्धी अन्तरक्रिया

 गुल्मी । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा उत्पादित वस्तुको लेबलिङ र प्याकेजिङ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

 घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजना तथा गुल्मीदरबार गाउँपालिकाको समन्वयमा एक दिने ‘उत्पादित वस्तुको लेबलिङ र प्याकेजिङ’ सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रशिक्षण कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक सहायक मनोज अधिकारी, घरेलु तथा साना उद्योग कार्यालयका जीवन घिमिरेले लेबलिङ र प्याकेजिङ प्रविधिका बारेमा जानकारी गराउनुभएको थियो । लेबलिङ र प्याकेजिङको सही प्रयोगले उत्पादनको ब्राण्डिङलाई मजबुत बनाउने, यसको बजारमा पहुँच बढाउने र ग्राहकहरूको विश्वास जित्नेमा ठूलो भूमिका खेल्ने बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा कार्यालय प्रमुख राजीव अर्यालले प्रशिक्षणका उद्देश्यबारे जानकारी गराउनुभएको थियो । उहाँले यस्ता कार्यक्रमहरूले स्थानीय उत्पादनको गुणस्तर वृद्धि सहयोग अपेक्षा गर्नुभयो । कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले गुणस्तर  वस्तुको उपभोग गर्ने अधिकार उपभोक्ताको भएको हुँदा उत्पादक तथा बिक्रेताले गुणस्तरीयता  कायम राख्न भन्ने विषयवस्तुमा जानकारी गराउनुभएको थियो । 

गाउँपालिकामा उत्पादित वस्तुहरूको लेबलिङ र प्याकेजिङमा सुधार ल्याउने उद्देश्यले अन्तरक्रिया गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले  गुणस्तरीय  वस्तुको  उत्पादन गर्न समेत जोड दिनुभएको थियो ।

उहाँले यस्ता कार्यक्रम गाउँ टोलसम्म पुर्‍याउनु पर्ने बताउनुभयो ।  उपभोक्ताको सुरक्षा र अधिकार सुनिश्चित गर्न, सही लेबलिङ र प्याकेजिङ अत्यन्तै महत्त्वपूर्ण हुने गैरेले बताउनुभयो ।

यस कार्यले उपभोक्तालाई स्वास्थ्य समस्याबाट जोगाउने उनको भनाइ छ । गुल्मीदरबारको सभाहलमा सम्पन्न कार्यक्रमको सहजीकरण घरेलु तथा साना उद्योग कार्यालयका मिलन भण्डारीले गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button