बाल सुधार गृहमा भएको झडप १५ घण्टापछि नियन्त्रणमा, ३६ जना घाइते
बाँके । बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बाल सुधार गृहमा भएको झडप १५ घण्टापछि नियन्त्रणमा आएको छ । २ सय ५५ जना बालबन्दी रहेको सुधार गृहमा भएको झडपमा परि ३६ बालबन्दी घाइते भएका छन् । घाइतेहरूको भेरी अस्पताल नेपालगन्ज र नर्सिङ होममा उपचार भइरहेको छ ।

आगजनीबाट सुधार गृहको भवन ध्वस्त भएको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताउनुभयो । स्थिति नियन्त्रणमा आए पनि बाल सुधार गृहबाट उद्धार गरिएका बालबन्दीहरुलाई आज राख्ने स्थानको समस्या देखिएको छ ।
लगातारको प्रयास र आग्रहलाई बालबन्दीहरुले अटेर गरेपछि प्रहरीले बल प्रयोग गरेर भित्र प्रवेश गरेको थियो । बालबन्दीहरुले नै गरेको आगजनीबाट भवन ध्वस्त भएपछि उनीहरुलाई अस्थायी रुपमा राख्ने स्थानको चुनौती आएको प्रजिअ जोशीले जानकारी दिनुभयो ।
प्रहरीले उद्धार गरिएका बालबन्दीको गणना सुरु गरेको र केही भागेको हुन सक्ने पनि प्रजिअ जोशीले बताउनुभयो । केही दिन अघि मात्रै तीन जना प्रहरीलाई कुटेका थिए । यसअघि झडप गरिरहनेहरूलाई प्रहरीले नौबस्ता सुधार गृहमा स्थानान्तरण गरेको थियो ।
पछिल्लो समय बाल सुधार गृह प्रशासनका लागि सुरक्षा चुनौती बनिरहेको छ । प्रहरीले बल प्रयोग गर्न नमिल्ने र भित्र रहेकाहरू आपसमा लडिरहने प्रचलन जस्तै बनेको बाँके प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो । १८ वर्ष नपुगेलाई राख्न बनाइएको बाल सुधार गृहमा १८ वर्ष माथिकाहरुलाई पनि मुद्दा किनारा नलाग्दासम्म भन्दै बसाउँदा सधैँ लफडा हुने गरेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्