तपाईँ सुन्दै हुनुहुन्छः

हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन आजदेखि सुरु

कला साहित्य र संस्कृतिबारेको छलफल र बहसबाट हिमवत्खण्डको गरिमा उजागर हुने पूर्व राष्ट्रपति भण्डारीको विश्वास

काठमाडौँ । काठमाडौँमा आजबाट तीन दिने हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन सुरु भएको छ ।

हिमवत्खण्ड क्षेत्रका विविध भाषा, संस्कृति, सभ्यता तथा ज्ञान परम्परालाई आत्मसात्  लोक संस्कृतिको उजागर गर्ने उद्देश्यले सुरु गरिएको सम्मिलनको आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नभयो । 

यस अवसरमा पूर्व राष्ट्रपति भण्डारीले कला साहित्य र संस्कृतिबारेको छलफल र बहसबाट हिमवत्खण्डको गरिमा उजागर हुने विश्वास व्यक्त गर्नुभयो  ।

विश्वव्यापीकरणको प्रक्रिया तीव्र बनिरहेको अवस्थामा राष्ट्रियता पनि भूगोलको सीमाभित्र नरहेको भन्दै उहाँले विश्वको जुनसुकै अवस्था रहेका नेपाली भाषी समुदायलाई साझा संस्कृतिको भावनाले जोडिरहने बताउनुभयो । 

हिमवत्खण्डका साझा चुनौती सामना गर्न वातावरणीय संरक्षण, जलस्रोत व्यवस्थापन, हरित ऊर्जा प्रवद्र्धन तथा स्थानीय समुदायलाई जलवायु परिवर्तन अनुकूलन रणनीतिमा सहभागी गराउनु पनि यस सम्मिलनले जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

समारोहमा मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले विश्वभरी छरिएर रहेका नेपाली भाषीहरू नेपाली लोक संस्कृति, साहित्य र कलाका आयामलाई संसारभरि फैलाउन एकजुट हुनुपर्नेमा जोड दिनुभयो । 

तीन दिनसम्म चल्ने सम्मिलनमा हिमवत्खण्डका एक सय जनाभन्दा बढी नेपाली भाषीहरू सहभागी छन् । 

सम्मिलनमा सातै प्रदेशका लोकसंस्कृतिका सन्दर्भमा बहस हुनुका साथै नेपाली सञ्चारमाध्यममा नेपाली भाषा विषयक विचार गोष्ठी चलचित्र प्रदर्शन र काव्य उत्सव समेत आयोजना गरिनेछ । 

त्यसैगरी भारत, बङ्गलादेश, म्यानमार थाइल्याण्डलगायतका लोकसंस्कृतिका विषयमा पनि छलफल हुने आयोजक समितिका सहसंयोजक प्रा.केशव सुवेदीले जानकारी दिनुभयो । 

आजै नेपाली चलचित्रमा नेपाली भाषा प्रयोगका सम्बन्धमा परिसंवाद कार्यक्रमको आयोजना गरिएको छ । 

परिसंवादमा वरिष्ठ चलचित्रकर्मी हरिहर शर्मा, प्राध्यापक डा.रमेशप्रसाद भट्टराई र डा.विन्दु शर्माले नेपाली भाषामा निर्माण भएका चलचित्रले नेपाली मानक भाषाको लय समाउन नसकेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button