तपाईँ सुन्दै हुनुहुन्छः

मेचीनगर गोल्डकप : धरान एफसी सेमिफाइनलमा

झापा । अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा पाहुना टोली उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी झापाको मेचीनगरमा आयोजित पाँचौँ मेचीनगर गोल्डकपबाट बाहिरिएको छ । 

टाई ब्रेकरमा धरान फुटबल क्लबसँग ५–३ गोल अन्तरले पराजित हुँदै ब्ल्याक बुल्स घर फर्किएको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा धकेलिएको थियो । 

खेलको ६० औँ मिनेटमा ब्ल्याक बुल्सले अग्रता लिएको थियो । इस्लोमजोनको क्रस पासमा आशिषभेक एरिफजोनोभको हेडर गोलमा परिणत भएको थियो । खेलको ८४ औँ मिनेटमा धरानले कमव्याक गर्‍यो । कप्तान मिलन राइको पासमा वैकल्पिक खेलाडी सुगम जिमीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

खेलको प्लेयर अफ द म्याच धरानका वैकल्पिक गोलरक्षक विपुल मगर घोषित भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । मङ्गलवारको खेल विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ एफसी र मच्छिन्द्र फुटबल क्लबबिच हुने आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलीले जानकारी दिनुभयो ।

चैत २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र ट्रफी प्राप्त गर्नेछ । उपविजेता टिमले नगद ५ लाख र ट्रफी प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले ५१ हजार, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलरक्षकले जनही २१ हजार तथा उदीयमान खेलाडीले ११ हजार रुपैयाँ पाउनेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button