न्यायको मागमा आमरण अनसन, पूर्व मेयर गुप्ताको स्वास्थ्य बिग्रिँदै
बाँके।सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जका बचतकर्ताले अदालतको आदेश कार्यान्वयनको माग गर्दै सुरु गरेको आमरण तथा रिले अनसनका क्रममा आमरण अनसनमा बस्नुभएका नेपालगञ्जका पूर्व मेयर, वरिष्ठ अधिवक्ता तथा सहकारी पीडित संघर्ष समितिका संयोजक विजय गुप्ताको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।
गुप्ताको शरीरमा सुगरको मात्रा अत्यन्तै कम भएपछि गतराति भेरी अस्पतालको आइसियुमा राखेर उपचार सुरु गरिएको उहाँका छोरा डा. दिपेश गुप्ताले जानकारी दिनुभयो। मंगलबारदेखि आमरण अनसनमा रहँदा स्वास्थ्य जटिलता देखिएपछि चिकित्सकको सल्लाहमा आइसियुमा राखिए पनि गुप्ताले आफ्नो माग पूरा नभएसम्म आमरण अनसन नछोड्ने अडान लिनुभएको छ।
अदालतको आदेश कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासन कार्यालय, बाँकेको मुख्य प्रवेशद्वार अगाडि सहकारीका पीडित पाँच जना अनसनमा बसेका छन्। तीमध्ये विजय गुप्ता आमरण अनसनमा तथा माया पासी, रामचन्द्र पासी, मोतिकुमारी पासी र गुग्धी यादव रिले अनसनमा सहभागी छन्।
पीडितहरू विगत छ वर्षदेखि न्यायका लागि संघर्षरत छन्। सहकारीमा ४३ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएपछि २०७६ असोज २८ गते ४१ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। जिल्ला अदालतले २०८० पुस २६ गते १९ जनालाई कसुरदार ठहर गरेको फैसला उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले समेत सदर गरिसकेको छ। अदालतले कसुरदारलाई कैद, जरिवाना तथा बिगो भराउने आदेश दिएको छ।
यसैगरी अदालतले तदर्थ समिति गठन गरी विशेष साधारण सभामार्फत सहकारी सञ्चालनमा ल्याउन निर्देशन दिएको भए पनि आदेश कार्यान्वयन नभएपछि पीडितहरू अनसनमा बस्न बाध्य भएको संघर्ष समितिको भनाइ छ। संयोजक गुप्ताले अदालतले दिएको दुई महिनाभित्र तदर्थ समिति गठन गर्ने आदेश कार्यान्वयन नभएकै कारण आमरण तथा रिले अनसन सुरु गरिएको बताउनुभएको थियो।
तदर्थ समिति गठन भई सहकारी सञ्चालनमा आएमा बाँकी कर्जा उठाउने, कसुरदारबाट बिगो असुल गर्ने र चरणबद्ध रूपमा बचतकर्ताको रकम फिर्ता गर्न सकिने संघर्ष समितिको विश्वास छ।
अनसनरत पीडितहरूले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेका छन्। संघर्ष समितिका सह–संयोजक आशुतोष शुक्लाले अदालतको आदेश कार्यान्वयन नभएसम्म अनसन जारी रहने चेतावनी दिनुभएको छ।
उक्त सहकारीमा ११ हजार ८ सय ४ जना बचतकर्ता रहेका छन्। जिल्ला प्रशासन कार्यालय, बाँकेले सहजीकरणका लागि सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङलाई जिम्मेवारी दिएको जनाएको छ।
यसैबीच, आमरण अनसनकै कारण गुप्ताको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उहाँको जीवन रक्षाका लागि तत्काल अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने माग थप बलियो बन्दै गएको छ।








प्रतिक्रिया राख्नुहोस्