तपाईँ सुन्दै हुनुहुन्छः

खोटाङका दुई स्थानीय तहमा ‘रेडियो बहस’ सम्पन्न

खोटाङ । सार्वजनिक सेवा प्रसारण नेपाल (रेडियो नेपाल) ले खोटाङ जिल्लाका दुई स्थानीय तहमा स्थलगत रेडियो बहस कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय सरकारद्वारा सञ्चालन भइरहेका विकास निर्माण, सेवा प्रवाह तथा समसामयिक गतिविधिलाई केन्द्रमा राखेर बहस कार्यक्रम आयोजना गरिएको रेडियो नेपालले जनाएको छ ।

रेडियो नेपालको आयोजनामा हलेसी तुवाचुङ नगरपालिकामा बुधबार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिहीबार स्थलगत ‘रेडियो बहस’ कार्यक्रम भएको थियो । 

कार्यक्रम रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत हरि गिरी र भानुभक्त खड्काले सञ्चालन गर्नुभएको थियो । स्थानीय तहको पारदर्शिता, उत्तरदायित्व र नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा जनप्रतिनिधि, नगरपालिका कर्मचारी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता थियो ।

कार्यक्रममा सहभागीहरूले नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई अझ सरल, पारदर्शी र सर्वसुलभ बनाउनुपर्ने सुझाव दिनुभएको थियो । साथै कृषि उत्पादन प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने, स्थानीय कृषि उत्पादनको बजारीकरण मार्फत किसानको हित सुनिश्चित गर्नुपर्ने, बाँदर आतङ्क नियन्त्रण गर्न पहल गर्नुपर्ने आवाज सहभागीहरूबाट उठाइएको थियो ।

सहभागीहरूबाट उठाइएका गुनासो तथा जिज्ञासाको जवाफ हलेसी तुवाचुङ नगरपालिकामा नगरप्रमुख बिमला राई, प्रमुख प्रशासकीय अधिकृत वसन्त गिरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा उपप्रमुख विसन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत रेखा राईले दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button