जनहित र मुलुकको पक्षमा काम गर्नेलाई मतदान गर्न मन्त्री खरेलको आग्रह
ललितपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता र मुलुकको पक्षमा काम गर्ने र सकारात्मक परिवर्तन ल्याउन सक्ने व्यक्तिलाई मतदान गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

ललितपुरको इमाडोलस्थित युरो किड्स विद्यालयद्वारा आज आयोजित अभिभावक दिवसमा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्दा सकारात्मक परिवर्तन ल्याउन सक्ने नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिनुभयो ।
परिवार छोडेर बिदेसिनुपर्ने पीडादायी वर्तमान अवस्थालाई चिर्न अबको पुस्ताले स्वदेशमा बसेर काम गर्नसक्ने वातावरण बनाउनुपर्नेमा मन्त्री खरेलले जोड दिनुभयो । “यसका लागि सचेत भएर योग्य र सक्षम नेतृत्व चयन गरौँ । सधैँ अरूलाई दोष लगाएर हुँदैन, काम नगर्नेलाई तिरस्कार गरौँ । वर्तमान सरकारको पहिलो प्राथमिकता तोकिएको समयमा निर्वाचन गराउनु हो, तपाईँहरूले सही नेतृत्व चयन गर्नुहोला”, उहाँले भन्नुभयो ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खरेलले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग र आधुनिकताले नातिनातिना र हजुरबुबा हजुर आमाबिचको सम्बन्ध टुट्दै गएकाले सामीप्यता र आत्मीयता हराउँदै गएको धारणा राख्नुभयो ।
मन्त्री खरेलले नयाँ पुस्ता र ससाना नानीबाबुलाई राम्रो सभ्यता र संस्कार सिकाउन विद्यालयले पनि जोड दिनुपर्नेमा बताउनुभयो । उहाँले असल संस्कारले असल नागरिक बनाउने भन्दै असल नागरिकले समाज र मुलुकलाई सफल बनाउने धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्