तपाईँ सुन्दै हुनुहुन्छः

असत्यमाथि सत्यको जित नै होली पर्व : मन्त्री यादव

वीरगञ्ज । खानेपानी मन्त्री प्रदीप यादवले रङ्गहरूको सप्तरङ्गी पर्व होली आपसी सद्भाव र भाइचाराको पर्व भएको हुँदा मधेसमा यसको विशेष महत्व रहेको बताउनुभएको छ । 

समाजवादी विद्यार्थी युनियनद्वारा आज वीरगन्जमा आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले विद्यार्थीहरूको चाहना, आकाङ्क्षा, र भविष्यलाई केन्द्रमा राख्दै सरकार नीति निर्माण गर्न जुटिरहेको बताउनुभयो । 

उहाँले असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसीयालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा मधेसमा रहिआएको बताउनुभयो । 

मन्त्री यादवले सो अवसरमा विद्यार्थीहरूलाई राष्ट्र निर्माणको आधारशिला भन्दै उनीहरूको अधिकार, भविष्य, र समृद्धिका लागि सकारात्मक कदम चाल्नुपर्नेमा जोड दिनुभयो । 

मन्त्री यादवले ठाकुरराम क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गर्न सबै विद्यार्थी सङ्गठन जुटेर अगाडी बढ्न आग्रह समेत गर्नुभयो । 

हर्ष र उमङ्गका साथ मनाइने रङ्गहरूको सप्तरङ्गी पर्व होलीले तराई मधेसको जनजीवन उल्लासमय बन्दै गएको छ । 

वीरगन्ज सहित तराई मधेसका जिल्लाहरूमा अहिले विभिन्न संघ सङ्गठन, शैक्षिक संस्था, राजनैतिक दलहरूले होली मिलन समारोहको आयोजना गरिरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button