लालझाडीमा नेपाली सेनाद्वारा बृहत् स्वास्थ्य शिविरको आयोजना गरिँदै
कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिकामा नेपाली सेनाले बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

श्री नं २५ बाहिनी अड्डा भगतपुरको आयोजनामा लालझाडी गाउँपालिका वडा नम्बर-२ स्थित भानु माध्यमिक विद्यालय कुञ्जमा यही फागुन २४ गते सञ्चालन गरिने स्वास्थ्य शिविरमा ११ विशेषज्ञ चिकित्सक तथा अन्य मेडिकल अधिकृतहरूले सेवा प्रदान गर्ने बाहिनीपति माधव थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाली सेनाको सैनिक अस्पताल नेपालगञ्ज, धनगढी तथा महाकाली प्रादेशिक अस्पतालका चिकित्सकहरूको टोली सहभागी हुनेछ । शिविरमा फिजियोथेरापी, छाला तथा यौन रोग, अर्थोपेडिक ओपिडी, अल्ट्रासाउण्ड, भिडियो एक्स–रे, नाक, कान, घाँटी, दाँत, स्त्री तथा बाल रोगसम्बन्धी सेवा प्रदान गरिने छ । शिविरबाट एक हजारभन्दा बढी स्थानीय लाभान्वित हुने नेपाली सेनाको अनुमान छ । वृद्धवृद्धा, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने छ ।
बाहिनीपति थापाले स्वास्थ्य शिविरमा अन्य पालिकाका सेवाग्राहीले पनि सेवा प्राप्त गर्न सक्ने जानकारी दिनुभयो । आवश्यक औषधि तथा सहायक सामग्री विभिन्न सहयोगी संस्थाहरूले प्रदान गर्ने बताइएको छ । बाहिनीपति थापाका अनुसार स्वास्थ्य शिविरका साथै सैनिक प्रदर्शनी, लागु औषध दुर्व्यसन रोकथामबारे जनचेतना, वातावरण संरक्षणसम्बन्धी सचेतना, सांस्कृतिक कार्यक्रम, मन्दिर सरसफाइ, सर्प दंशसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू पनि गरिने छन् । ती अन्य गतिविधिहरू भने आजैदेखि सुरु हुँदै छन् ।
नेपाली सेनाले विपद् व्यवस्थापन, सामाजिक कार्य तथा भौतिक पूर्वाधार निर्माणमा समेत योगदान दिँदै आएको छ । सेनाले नागरिकसँग सहकार्य अभिवृद्धि गर्न विभिन्न समयमा अन्तरक्रियात्मक कार्यक्रमहरू गर्दै आएको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्