तपाईँ सुन्दै हुनुहुन्छः

झापामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा

झापा । राष्ट्रिय खेलकुद परिषद्को तत्त्वावधान र झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा यही साता आयोजना हुने झापा जिल्ला स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।

यही फागुन २३, २४ र २५ गते मेची रङ्गशालामा हुने प्रतियोगिताको तयारी पूरा झापा जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तका अनुसार प्रतियोगितामा झापाका सबै स्थानीय तहका विद्यालयहरूबाट प्रतिस्पर्धा गरी छनोट भएका माध्यमिक तहमा अध्ययनरत १४ देखि १८ वर्षसम्मका खेलाडीहरूले ६ वटा विधामा प्रतिस्पर्धा गर्नेछन् ।

यस वर्ष एथलेटिक्स (छात्र/छात्रा), भलिबल (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा), कराते (छात्र/छात्रा), तेक्वान्दो (छात्र/छात्रा) र उसु (छात्र/छात्रा) खेल हुने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

प्रत्येक टिममा ६ विधाका करिब १२५ जना खेलाडी तथा अफिसियल गरी करिब दुई हजार जनाको जमघट मेची रङ्गशालामा रहने कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले जानकारी दिनुभयो । राष्ट्रपति रनिङ शिल्डमा सामेल नभए पनि जिल्लामा उल्लेख्य खेलाडी रहेको आईटीएफ तेक्वान्दोको पनि प्रतियोगितात्मक प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रतियोगिताका लागि खेलको विधा अनुसार मेची रङ्गशालालाई व्यवस्थित बनाइएको नेम्बाङले बताउनु भयो । यसअघिको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्जुनधारामा गराइएको थियो ।  

प्रतियोगिताबाट विजेता खेलाडीहरू छनोट भई झापा जिल्लाको टिम बन्नेछ । करिब १२५ जनाको झापा टिम कोशी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी बन्ने समितिका प्रवक्ता जगन कार्की ‘दुर्वासा’ले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button