तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य संस्थालाई मापदण्ड पालना गर्न मुख्यमन्त्री आचार्यको निर्देशन  

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रबाट सञ्चालन भएका अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई सरकारले जारी गरेका नीति, नियम र मापदण्ड अनुसार चल्न निर्देशन दिनुभएको छ ।

दाङको तुलसीपुरमा रहेको राप्ती लाइफ केयर हस्पिटलको मोतीपुरमा रहेको भवनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो निर्देशन दिनुभएको हो ।

स्वास्थ्य क्षेत्र अति संवेदनशील भएको उल्लेख गर्दै सरकारले निर्धारण गरेका मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्नुभयो । अस्पतालले नीति, नियम, मापदण्ड पालना गर्दै जनताको स्वास्थ्य सेवामा तल्लीन रहन आग्रह गर्नुभयो । भविष्यमा पनि सरकारले बनाएका मापदण्डलाई अनुशरण गर्दै सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।

उहाँले प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राख्दै सर्वसुलभ र सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउने नीति लिएको बताउनुभयो । उपचार सेवा मात्र होइन, स्वस्थ र सन्तुलित जीवनशैलीका लागि सरकारको प्राथमिकतामा राखिएको उहाँले उल्लेख गर्नुभयो ।

भवन उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, स्थानीय जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी, नागरिक अगुवा, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button