संविधान संशोधनका लागि एक महिनाभित्रै कांग्रेस–एमालेको संयन्त्र बन्छ : उपसभापति खड्का
रुपन्देही । नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले संविधान संशोधनका लागि एक महिनाभित्रै कांग्रेस र एमालेको संयन्त्र बन्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमका विषयमा आइतबार रुपन्देहीको भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपसभापति खड्काले दुई दलबीच संयन्त्र बनेर छलफल सुरु भएपछि सरकारमा सहभागी दल र त्यसपछि प्रतिपक्षी दलहरूसँग छलफल थाल्ने बताउनुभयो ।
उहाँले संविधानलाई सबैको साझा, प्रगतिशील र समावेशी बनाउने गरी संशोधनका विषयमा छलफल चलाइने बताउनुभयो ।
अर्को एक फरक प्रसङ्गमा उनले संसदमा पेश भएको सामाजिक सञ्जालसम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित नहुने दाबी गर्नुभयो। पूर्व उपप्रधानमन्त्री समेत रहेका खड्काले संविधानले दिएको अधिकारलाई रक्षा गर्दै सामाजिक सञ्जालको गलत प्रयोगलाई नियमन गर्न खोजिएको बताउनुभयो ।
सोमबार र मङ्गलवार भैरहवामा हुने दुई दिने प्रशिक्षण कार्यक्रममा पार्टीको आन्तरिक नीति, आगामी यात्रा, क्रियाशील सदस्यता, नवीकरण, समसामयिक मुद्दा, सरकारले गरेका काम लगायतका विषयमा व्यापक रुपमा छलफल हुने उपसभापति खड्काले जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रमको कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने उहाँले बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा क्षेत्रीय सभापति, जिल्ला सभापति, प्रदेश सभापति लगायतका नेताको सहभागिता रहनेछ । नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीको आतिथ्यतामा कार्यक्रम हुने क्षेत्रीय सभापति सुशील गुरुङले बताउनुभयो । क्षेत्रीय सचिव तथा प्रवक्ता लेखनाथ भट्टराईका अनुसार सोमबार (भोली) बिहान १०ः३० बजे कार्यक्रमको उद्घाटन हुनेछ । यी र यस्ता कार्यक्रमले नेपाली कांग्रेस अझ शक्तिशाली बन्ने गतिशिल बन्ने नेपाली कांग्रेसका नेताहरूको विश्वास रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्