बाजुरामा तीन दिन देखि विद्युत् सेवा अवरुद्ध

बाजुरा I बाजुरामा तिन दिनदेखि निरन्तर विद्युत् सेवा अवरुद्ध भएको छ ।
जिल्ला सदरमुकाम मार्तडी सहित बिढिगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा जडान गरिएको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको हो ।
बिहीबार रातिदेखि विद्युत् लाइनमा आएको समस्याका कारण केही समय आउने जाने भएर सेवाग्राहीहरूलाई निकै समस्या भइरहेको छ ।
तीन दिनदेखि राति कुनै लाइनमा केही समय झ्यापझुप हुने विद्युत् दिनभर भने पूर्ण रुपमा अवरुद्ध भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरण बाजुरा वितरण केन्द्रले भने फागुन १५ गते रातिदेखिको भारी बर्षाले विद्युत् लाइनका विभिन्न स्थानमा समस्या आएर विद्युत् सेवा अवरोध भइरहेको जनाएको छ । अछामको साँफेबगर देखि बाजुरा सदरमुकाम मार्तडीसम्म लामो लाइन भएका कारण बर्षाले कतै रुख ढलेर तार चुँडिने, कतै तार सट हुने जस्ता समस्या भएकाले विद्युत् सेवा अवरोध भएको नेपाल विघुत प्राधिकरण वितरण शाखा बाजुराका प्रमुख राजेश झाले बताउनुभयो ।
जिल्लामा विद्युत् लाइनका तीन वटा फेज मध्ये आज दुईवटा फेजमा आएको समस्या समाधान गरिएको र तेस्रो फेजको समस्या समाधानका लागि प्राविधिकको टोली खटिएकाले त्यो समस्या समाधान हुने बित्तिकै विघुत सेवा नियमित हुने विघुत प्राधिकरण वितरण शाखा बाजुराले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्