प्रधानमन्त्री कप एक एक दिवसीय क्रिकेट : कास्की र तनहुँ फाइनलमा प्रवेश
पोखरा । प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप एक दिवसीय गण्डकी प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा शनिबार भएको खेलमा कास्कीले जित हासिल गरेको छ । घरेलु टिम कास्कीले नवलपुरलाई ९ विकेटले पराजित गर्दै कास्की फाइनल प्रवेश गरेको हो ।

शनिबार सम्पन्न भएको खेलमा नवलपुरले दिएको ९९ रनको लक्ष्यलाई कास्कीले एक विकेटको क्षतिमा १९।१ ओभरमा लक्ष्य पूरा गरेको हो । ५० ओभरको खेल ४० ओभरमा झारिएको थियो । ४० ओभरमा टस जितेर नवलपुरले ब्याटिङ रोज्यो । ओसिलो पीचमा नवलपुरले केवल ९८ रन मात्रै बनाएको थियो । २१।४ ओभर मात्रै खेलेको नवलपुरले प्रमेश अर्यालले १७ रन, आर्या महतोले ११, आयुष सुवेदीले १४ र कमल परियार भने १५ रनमा अविजित रहनुभयो । कास्कीका सुवास भण्डारीले ५ विकेट लिँदा विपिन खत्री र नितेश गिरीले समान दुई÷दुई विकेट लिनुभयो ।
९९ रनको लक्ष्य पछ्याएको कास्कीले अर्जुन कुमाल र मुस्कान थापाको ओपनिङमा सहज जित हात पार्न सफल भएको हो । कुमाल नटआउट ४७ रनमा बनाउने क्रममा ८ चौका प्रहार गर्नुभयो भने थापा भने ३५ रनमा आउट हुँदा ५ चौका प्रहार गर्नुभयो । रोहित चन्द ९ रनमा अविजित रहनुभयो ।
भोलि (आइतबार) कास्की र तनहुँ बिचको फाइनल खेल हुने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्