सुजता कोइरालाको भ्रमणका क्रममा ६० नेपाली विद्यार्थीलाई छात्रवृत्तिको घोषणा
छेन्डु, चीन । चीनकाे सिचुवान प्रान्तले आगामी तीन वर्ष भित्र ६० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको छ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा सिचुवान पुगेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य र पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री सुजता कोइरालाले चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका नेता फुबुदुङ्चुसँग बिहीवार भएको भेटका क्रममा नेपालका विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था गर्न आग्रह गर्नुभएकाे थियाे।
यसपछि सिचुवान प्रान्तीय सरकारले आगामी तीन वर्षमा ६० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको हो। छात्रवृत्तिको मापदण्डबारे भने पछि थप छलफल हुने जनाइएको छ।

नेपाल-चीन बीचको गहिरो सम्बन्धलाई प्रतिबिम्बित गर्दै, भ्रमणमा सहभागी सुजता कोइरालाले चीन सरकारले तत्कालै उठाइएको विषयलाई सम्बोधन गरेकोमा खुशी व्यक्त गर्दै सिचुवान प्रान्तीय सरकारलाई धन्यवाद दिनुभयाे। उहाँले नेपाली कांग्रेस र चीन सरकारको सुमधुर सम्बन्धलाई पनि जोड दिनुभयाे।
भ्रमण टोलीमा नेपाली कांग्रेसबाट पूर्व उपप्रधानमन्त्री सुजता कोइराला, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेता देवराज चालिसे लगायत १५ जना नेता, साथै फ्रेण्ड्स अन द क्लाउड प्लेटफर्म अफ इन्फ्लुएन्स नेपालका वरिष्ठ कलाकार कृष्ण मल्ल, फिल्म निर्देशक आरएम नहकर्मी, पत्रकार चिरञ्जीवी मास्के, गोकर्ण भण्डारी र कृष्ण मल्लसमेत सहभागी हुनुहुन्थ्याे।
प्रतिक्रिया राख्नुहोस्