तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

बेलायत । बेलायती सेना प्रमुख, चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरले नेपाली सेनाको प्रशंसा गर्नुभएको छ । 

लण्डनस्थित नेपाली दूतावासले नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा बुधबार साँझ दूतावासमा आयोजना गरेको एक विशेष समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएका सेना प्रमुख रोलीले, नेपाली र बेलायती सेनाबीचको दिगो सम्बन्धप्रति प्रसन्नता व्यक्त गर्दै नेपाली सेनाले देखाएको अटल समर्पण, निष्ठा र व्यावसायिकताको मुक्तकण्ठले प्रशंसा गर्नुभएको हो । 

उहाँले भन्नुभयो, “नेपाली सेनाको २६२औँ स्थापना दिवसमा यो रात यहाँहरूको साथमा कार्यक्रममा सहभागी हुन पाउनु मेरा लागि खुसीको पल हो, संयुक्त राष्ट्रसङ्घमा उत्कृष्ट सहभागितासहित नेपाली सेनाले पुर्याएको योगदान साँच्चै गर्विलो छ ।” 

जनरल वाकरले सो अवसरमा भविष्यमा बेलायती सेनाले नेपाली सेनालाई थप सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बेलायतमा ब्रिगेड अफ गोर्खाजले पुर्याएको योगदानको खुलेर प्रशंसा गर्नुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत डा चन्द्रकुमार घिमिरेले नेपाली सेनाको गौरवशाली इतिहास र दिगो विरासतको स्मरण गर्नुभयो । उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनमा नेपाली सेनाको योगदान उल्लेखनीय रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “आपसी सहमति सहकार्य र भाइचाराको जगमा नेपाल र संयुक्त अधिराज्यबीच सम्बन्ध घनिष्ठ बनेको छ ।” राजदूत घिमिरेले नेपाली सेनाको महत्त्वपूर्ण इतिहास र बेलायती सेनासँगको लामो समयदेखिको सम्बन्ध स्मरण गर्दै बेलायत सरकारले नेपाल र नेपाली सेनालाई निरन्तर सहयोग गरेकामा प्रशंसा गर्नुभयो । 

स्वागत मन्तव्यका क्रममा दूतावासका सैनिक सहचारी कर्णेल अनुप शाहले इतिहासका निर्णायक क्षणहरूमा नेपाली सेनाको अटल बलिदानको स्मरण गर्दै नेपाली सेना आफ्नो व्यावसायिक धर्ममा कटिबद्ध रहेको बताउनुभयो । 

कर्णेल शाहले विश्व शान्ति स्थापना, वन्यजन्तु संरक्षण, प्राकृतिक प्रकोपहरूमा मानवीय सहायता, विकास निर्माण आदिमा नेपाली सेनाको योगदानसहितको श्रव्य दृश्य प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button