तपाईँ सुन्दै हुनुहुन्छः

फेरिएको गुल्मी सदरमुकाम ‘तम्घास’ बजार

गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा बढ्दो आधुनिकतासँगै पुराना डिजाइनका घरहरू भत्काएर नयाँ घरहरू निर्माण गर्ने क्रम बढ्दै गएको छ ।

कुनै समयका निकै राम्रो मानिएका ढुङ्गा, माटो, काठ र जस्ता पाता लगायत प्रयोग गरेर निर्माण गरिएका घरहरू तम्घास बजारमा हराउँदै जान थालेका छन् ।  गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको विकाससँगै अहिले पुराना डिजाइनका घरहरू हराउँदै जान थालेका छन् । त्यस्ता घरहरू तम्घास बजारमा अहिले केही मात्रामा मात्रै देख्न सकिन्छ । अहिले बजार रहेका ती पुराना डिजाइनका घरहरू कुनै समयमा निकै राम्रा मध्येका घर हुन् । आधुनिकताको विकाससँगै अहिले सिमेन्ट, छड, इँटा प्रयोग गरेर घरहरू धमाधम निर्माण हुँदै गएका छन् । यसरी निर्माण हुँदा पुराना डिजाइनका घरहरू अहिले हराउँदै गएका हुन् । पुराना घरहरू हराएसँगै तम्घास बजारले नयाँ स्वरूप लिएको छ । २००९ साल अघिसम्म तम्घासको पुरै झाडी थियो । त्यसपछि एक दुई पसलबाट अहिलेको तम्घास बजार बनेको स्थानीय दुर्गादेवी श्रेष्ठले बताउनुभयो । 

सदरमुकाम तम्घासमा २०४० साल तिर पहिलोपटक ट्र्याक्टर आएको थियो । त्यसपछि यहाँको विकासले झनै गति लियो । सदरमुकाम यातायातको साधनसँग जोडिएपछि यहाँका घरहरूसँगै मानिसहरूको पनि जीवन शैली पनि फरक बन्दै गएको स्थानीय रामलाल पन्थीले बताउनुभयो । 

तम्घासमा पहिलो पाल्पा बुटवल पुगेर भरिया मार्फत सामान ल्याएर बिक्री गर्ने र केहीले घर खर्चका लागि पनि ल्याउने गरिन्थ्यो । पछि सवारी साधनहरू आउन थालेपछि बजार र पसलहरू थपिँदै गए । त्यसपछि तम्घास बजार शहर बन्दै गएको स्थानीय खेतबहादुर भलामीले बताउनुभयो । यसरी सहरको विकाससँगै अहिले पुराना डिजाइनका घरहरू हराउँदै जान थालेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button