तपाईँ सुन्दै हुनुहुन्छः

सराङकोटमा निर्माण भएका पर्यटन तथा धार्मिकस्थलहरुको राष्ट्रपति पौडेलद्वारा उद्घाटन हुने 

पोखरा । पर्यटकीय नगरी पोखराको सराङकोटमा हालसम्म निर्माण भएका पर्यटकीय एवं धार्मिक स्थलहरूको राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन हुने भएको छ । यही फाल्गुन १४ गते सराङकोटमा सुरु हुने श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सवको अवसरमा राष्ट्रपति पौडेलबाट फागुन १७ गते औपचारिक उद्घाटन हुने भएको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष प्रेम बहादुर जिसीले बताउनुभयो । 

महायज्ञ फागुन १४ गतेदेखि सुरु भए पनि सराङकोटमा हालसम्म निर्माण भएका करिब ३५ करोडका विभिन्न भौतिक संरचनाहरूको उद्घाटन हुने तयारी गरिएको उहाँले जनाउनु भयो । विशाल शिवमन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, भ्यूटावर, १०८ शिव लिङ्ग, १०८ धारा, भुमे कालिका मन्दिर, गणेश मन्दिर, होमन कुण्ड, स्वागतद्धार, बहुउद्देश्यीय भवन लगायतका भौतिक संरचना सराङकोटमा निर्माण भएको संयोजक जिसीले जनाउनु भयो । सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको नेतृत्वमा २०६१ देखि वृहत् गुरुयोजना मार्फत उक्त परियोजना निर्माण हुँदै हालसम्म ४ पटक आयोजना भएका महायज्ञ तथा दाताको सहयोग र सरकारको  सहयोगमा उक्त संरचना निर्माण भएको समितिले जनाएको छ । 

महाशिवरात्रि जस्तो पवित्र दिनदेखि आरम्भ हुने यो महायज्ञले धार्मिक अनुयायीहरूको ध्यान तान्ने मात्र होइन, महादेवप्रति भक्तिभाव व्यक्त गर्ने एउटा अनुपम अवसर पनि प्रदान गर्ने भएको महायज्ञका प्रमुख वाचक भागवत भाष्कर पण्डित कमलनयन गौतमले बताउनुभयो । यस अवसरमा भागवत ज्ञानको गहिरो अर्थ र शिक्षालाई समाजमा प्रवाह गर्दै धार्मिक एकता र शान्तिको सन्देश फैलाउने आफूहरूले विश्वास गरेको उहाँले जनाउनु भयो । 

सराङकोट, आफैमा पर्यटकीय हुँदै प्रसिद्ध धार्मिक क्षेत्रको रुपमा समेत विकसित हुँदै आएको पोखरा महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष शिव प्रसाद तिमिल्सिनाले बताउनुभयो । सराङकोट पर्यटकीय गन्तव्य भएको दाबी गर्दै उहाँले प्राकृतिक सौन्दर्य र हिमालको सुन्दर दृश्यावलोकनका लागि लोकप्रिय रहेको उहाँले जनाउनु भयो । 

महायज्ञले स्थानीय उत्पादन र व्यवसाय प्रवद्र्धन गर्न सहयोग पुर्‍याउने अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौडेलले बताउनुभयो । धार्मिक र पर्यटकहरूको आगमनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभावका लागि स्थापित अन्नपूर्ण केबुलकार मार्फत निर्माण अन्तिम तयारीमा रहेको नेपालकै पहिलो पञ्चमुखी गणेश मूर्तिले पोखरामा धार्मिक पर्यटकको आगमन वृद्धि हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । रोडसो कन्स्ट्रक्सन प्रा.लि.,अन्नपूर्ण केबलकारका अध्यक्ष कालु गुरुङको नेतृत्वमा विभिन्न दाताको सहयोगबाट ११ करोडको लागतमा पञ्चमुखी गणेशको मूर्ति स्थापना भएको समितिका अध्यक्ष जिसीले जनाउनु भयो । 

धार्मिक आस्था, पर्यटन प्रेम, र सांस्कृतिक महत्त्वलाई आत्मसाथ गर्दै फाल्गुन १४ देखि २१ सम्म सम्पन्न हुने धार्मिक पर्यटन महोत्सव सम्पन्नका लागि एक हजार एक सय ११ सदस्य मुल आयोजक समिति र ११ वटा विभिन्न समिति मार्फत स्थानीय संघ संस्था, विभिन्न समूहहरूलाई समेटी महाउत्सवको तयारी तीव्र पारिएको महायज्ञका प्रचार प्रसार संयोजक कृष्ण थापाले हामीले बताउनु भयो । महाउत्सव सम्पन्नका लागि सराङकोट क्षेत्रका सम्पूर्ण क्लब, आमा समूह सहित विभिन्न संघ संस्थाहरूको साथ र सहयोग हुने भएको प्रचार प्रसार समितिका सहसंयोजक बलराम तिमिल्सिनाले बताउनु भयो । 

सराङकोट धाममा निर्माण गरिएका सम्पूर्ण संरक्षण बाल उद्यान, योग ध्यान केन्द्र सहित दृश्य अवलोकनका लागि आकाशे सिसाको पुल सहितको थप योजना सम्पन्नको लागि महाउत्सव कोषेढुंगा सावित हुने सचिव दिल बहादुर जिसीले बताउनुभयो । महायज्ञको पहिलो दिनमा पोखराको सिमपानी स्थित गाइघाँटदेखि जल सहितको कलश यात्रा हुने भएको समितिले जनाएको छ । उक्त स्थानमा सराङकोट धाम बनाउने समितिको योजना रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button