अमेरिकी सरकारी कर्मचारीलाई मस्कले भने : पूरा गरेको कामको सूची पठाउनुहोस्, नत्र राजीनामा दिनुहोस्
वासिङटन डिसी । अमेरिकी संघीय सरकारी कर्मचारीहरूलाई शनिबार दिउँसो एउटा इमेल प्राप्त भएको थियो। इमेलको विषयमा ‘तपाईंले गत हप्ता के गर्नुभयो?’ लेखिएको थियो। उक्त इमेलमा कर्मचारीलाई “गत हप्तामा तपाईंले पूरा गर्नुभएका कामहरूको सूची बनाउनुहोस् वा राजीनामा दिनुहोस्” भन्ने कुरा लेखिएको थियो।
अर्बपति उद्यमी एलोन मस्कले यसअघि समाजिक सञ्जाल एक्समा एउटा पोस्ट गर्दै भनेका थिए, “कर्मचारीहरूले चाँडै नै एउटा इमेल प्राप्त गर्नेछन् जसको उद्देश्य गत हप्तामा उनीहरूले कुन-कुन काम पूरा गरे भन्ने कुरा जान्नु हो।”
यदि कर्मचारीले उक्त इमेलको जवाफ दिन असफल भए भने, यसलाई राजीनामा मानिने कुरा जनाइएको थियो।
एलोन मस्क अमेरिकामा सरकारी दक्षता विभागको नेतृत्व गरिरहेका छन्। यस विभागको मुख्य उद्देश्य अमेरिकी सरकारको खर्च घटाउनु हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्सलाई सम्बोधन गरेपछि कर्मचारीहरूले यो इमेल प्राप्त गरेका थिए।
(स्रोत: बीबीसी)
प्रतिक्रिया राख्नुहोस्