जनकपुरधाममा अत्यधिक सङ्ख्यामा ई–रिक्सा सञ्चालन हुँदा ट्राफिक व्यवस्थापनमा समस्या

जनकपुरधाम । जनकपुरधाममा अत्यधिक सङ्ख्यामा ई–रिक्सा सञ्चालन हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा इ–रिक्सा सञ्चालनका लागि नगरपालिकाबाट १ हजार ५ सयले अनुमति लिए पनि नगर क्षेत्रमा करिब ५ हजारको सङ्ख्यामा ई–रिक्सा सञ्चालनमा रहेको छ । जसले गर्दा नगर क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुनुका साथै ठाउँ ठाउँमा दुर्घटना भई अकालमा मान्छेहरूले ज्यान गुमाइरहेका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ई–रिक्साका कारणले चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख, प्रहरी निरीक्षक हरि बहादुर ओलीले जानकारी दिनुभयो ।
बढ्दो ट्राफिक जाम र ई–रिक्साको व्यवस्थापन गर्ने विषयमा सरोकारवालाहरूसँग पटक पटक छलफल भएपनि समस्या समाधान हुन नसकेको प्रहरी निरीक्षक ओलीले बताउनुभयो ।
तत्कालीन अञ्चल यातायात व्यवस्था कार्यालयदेखि हालसम्म आएर जनकपुरधामस्थित यातायात कार्यालयबाट १२ हजार ई–रिक्सा दर्तामा रहेको तथ्याङ्क छ ।
ई–रिक्साका कारणले दिनदिनै सवारी दुर्घटना हुने क्रम बढ्दो छ । जनकपुरधाम मधेश प्रदेशको राजधानी रहेको र सडक क्षमतालाई हेरेर ई–रिक्सा सञ्चालनका लागि अनुमति दिनुपर्नेमा नदिएका कारणले ट्राफिक समस्याको रुपमा ई–रिक्सा बनेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको सबै सडकहरूमा अत्यधिक सङ्ख्यामा ई–रिक्सा गुड्ने गरेका कारणले पैदलयात्री तथा मोटरसाइकल, कार तथा अन्य सवारी सञ्चालनमा पनि समस्या भएको छ । जनकपुरधामको रामानन्द चोकदेखि जानकी मन्दिरसम्म दिनदिनै ई–रिक्साहरूका कारणले सडक जाम हुने गरेको छ । त्यस्तै ई–रिक्साका चालकहरूले यत्रतत्र पार्क गर्ने गर्दा थप समस्या भएको छ ।
ई–रिक्साको व्यवस्थापनमा जनकपुरधाम उपमहानगरपालिकाले खासै ध्यान दिएको पाइँदैन । यसको समस्या समाधानका लागि उपमहानगरपालिकाले विशेष ध्यान दिन जरुरी छ ।
यसैबीच ई–रिक्साको व्यवस्थापनका लागि जनकपुरधाम उपमहानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मजदूर सङ्गठनको सहभागितामा यही फागुन १० गते विशेष बैठक बस्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्