राप्ती नदीमा सुन चालेर जीविकोपार्जन गर्ने माझी समुदायकाे पेसा सङ्कटमा

बाँके । जलवायु परिवर्तनका कारण नदीमा पानीको सतह घट्दै जाँदा बाँकेको राप्ती नदीमा सुन चालेर जीविकोपार्जन गर्ने माझी समुदाय सङ्कटमा परेका छन्।
पुस्तौँदेखि नदीको बालुवामा सुनको कण खोजेर जीवन धान्दै आएका उनीहरू अहिले विकल्प खोज्न बाध्य भएका छन्।

बिगत २५ वर्षदेखि सुन चाल्दै आएका खड्कबहादुर खत्री अहिलेको अवस्थामा निराश हुनुहुन्छ । “पहिलेको जस्तो सुन भेटिँदैन, नदीमा पानी घट्यो, बालुवामा सुनको मात्रा पनि कम हुँदै गयो। पहिले परिवार पाल्न सकिन्थ्यो, अहिले मुस्किल छ,” उहाँले भन्नुभयो।
उहाँकै जस्तै अवस्था रामबहादुर माझीको पनि छ। उहाँ विगत तीन दशकदेखि यही पेसामा संलग्न हुनुहुन्छ । उहाँका अनुसार, जलवायु परिवर्तनले नदीको बहाव परिवर्तन गरेको छ, जसले बालुवाबाट सुन निकाल्ने सम्भावना घटाउँदै लगेको छ। “पहिले पानी धेरै हुन्थ्यो, पानीको बहावले भारी बालुवा बगाउँथ्यो र सुन झिक्न सजिलो हुन्थ्यो। अहिले पानी नै छैन, बालुवा चाल्दा केही निस्कँदैन,” उहाँले दुखेसो पोख्नुभयो।

यसरी पेशा सङ्कटमा परेपछि धेरै माझी समुदायका व्यक्तिहरू वैकल्पिक पेसातर्फ लाग्न थालेका छन् । ५० वर्षीय तुलसीदेवी माझी पहिलेसम्म श्रीमानसँगै सुन चाल्ने गर्नुहुन्थ्यो। तर अहिले यो पेशाले परिवार पाल्न नसक्ने भएपछि उनले तरकारी खेती सुरु गर्नुभएको छ । “नदीमा पानी घट्दै गयो, सुन भेट्नै गाह्रो भयो। के गर्नु, पेट त पाल्नुपर्छ, त्यसैले म अहिले तरकारी खेती गर्दैछु”, उहाँले भन्नुभयो।

जलवायु परिवर्तनका कारण नदीको बहाव परिवर्तन हुनुका साथै अनियन्त्रित दोहनले पनि सुन निकाल्ने सम्भावनामा असर गरेको छ। विज्ञहरूका अनुसार, नदीजन्य पदार्थको दोहनले नदीको स्वरूप नै बदलिएको छ, जसले परम्परागत सुन चाल्ने समुदायको भविष्य अन्योलमा पारेको छ।
सरकारले नदीजन्य पदार्थको उत्खननलाई नियमन गरे पनि माझी समुदायका लागि उपयुक्त वैकल्पिक रोजगारीको व्यवस्था गर्न सकेको छैन। पेशा परिवर्तन गर्ने विकल्प सीमित भएकाले धेरै माझीहरू अझै पनि सङ्कटपूर्ण अवस्थामा जीविकोपार्जन गरिरहेका छन्।

राप्ती नदीको बगरमा सुनको आशामा बालुवा चाल्ने माझी समुदायको कथा पुरानै हो, तर समयसँगै उनीहरूको सङ्घर्ष झन् कठिन बन्दै गएको छ। जलवायु परिवर्तनले ल्याएको यो संकट उनीहरूको पुरानो पेशा बाँच्ने कि लोप हुने भन्ने दोधारमा पुर्याएको छ।

प्रतिक्रिया राख्नुहोस्