रुकुम पूर्वको भूमे गाउँपालिका राष्ट्रिय कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट
रुकुम पूर्व । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनमा रुकुम पूर्वको भूमे गाउँपालिका उत्कृष्ट बनेको छ। आयोगले गत आर्थिक वर्षमा गाउँपालिकाले गरेका कार्यहरूको मूल्याङ्कन गर्दा रुकुम पूर्वका तीन स्थानीय तहमध्य भूमे गाउँपालिका पहिलो स्थानमा रहेको हो।
आयोगले देशभरका स्थानीय तहहरूको अघिल्लो आर्थिक वर्षको कार्यसम्पादनको मूल्याङ्कन गरेर नतिजा सार्वजनिक गरेको छ। यस मूल्याङ्कनमा भूमे गाउँपालिकाले ७०.४ अंक प्राप्त गरी पहिलो स्थान प्राप्त गरेको हो। सिस्ने गाउँपालिकाले ६६.४ अंक प्राप्त गरी दोस्रो स्थान हासिल गरेको छ, जबकि पुथाउत्तरगंगा गाउँपालिकाले ५७.७ अंक प्राप्त गरी तेस्रो स्थानमा परेका छन्।
आयोगको मूल्याङ्कनमा विभिन्न १७ वटा सूचाङ्कहरूमा स्थानीय तहहरूको कार्यसम्पादनको मूल्याङ्कन गरिएको छ। यसमा आर्थिक वर्षको राजस्व र आय-व्ययको अनुमान, गाउँसभामा समयमै पेस नगरेको, बजेट पास गर्नमा ढिलाइ, प्रदेश र संघमा पठाउनुपर्ने राजस्व समयमै पठाएको वा नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व संकलन, विद्यार्थी भर्ना, चालु र पुँजीगत खर्च लगायतका पक्ष समावेश छन्।
प्रतिक्रिया राख्नुहोस्