तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक स्थानमा औषधिजन्य फोहोर फालेपछि २५ हजार जरिवाना

नेपालगञ्ज ।नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा स्वास्थ्य तथा औषधिजन्य फोहोर फालेपछि सुनगाभा स्वास्थ्य सरोकार केन्द्रलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । नेपालगञ्ज वडा नम्बर १० शितलनगरस्थित सुनगाभा स्वास्थ्य सरोकार केन्द्रलाई आज २५ हजार रुपैयाँ जरिवाना गरिएको नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीले जानकारी दिनुभयो । 

नेपालगञ्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम जरिवाना गरिएको हो । नगर प्रहरी र स्वास्थ्य महाशाखाको टोलीले सार्वजनिक स्थानमा औषधिजन्य फोहोर फालेको पाएपछि जरिवाना गरेको हो । नगर प्रहरी प्रमुख बोगटी, स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत, फार्मेसी अधिकृत डा. अस्मित आचार्य, नगर प्रहरी सहायक निरीक्षक पवन कनोजिया सहितको टोली अनुगमनमा गएको थियो ।

नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सचेतना प्रबद्र्धन गर्दै आएको नेपालगञ्ज उपमहानगरपालिकाले पछिल्लो समय कारबाही गर्न थालेको छ । नगर प्रमुख प्रशान्त विष्टले जथाभाबी फोहोर फाल्ने विरुद्ध निगरानी बढाइएको बताउनुभयो । फोहोर फाल्नेलाई ठाउँको ठाउँ कारबाही गरिरहेको बताउँदै उहाँले फोहोर व्यवस्थापनमा सघाएर नगर सभा राख्ने अभियानमा साथ दिन नगरबासीलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button