तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमा १० औँ राष्ट्रिय प्रदेश छनौट प्रतियोगिता शुरु

धनगढी । कैलालीको धनगढीमा १० औँ राष्ट्रिय प्रदेश छनौट प्रतियोगिता शुरु भएको छ । 

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आज धनगढीमा एक समारोहबिच प्रदेश छनौट प्रतियोगिताको उद्घाटन गर्नुभयो । त्यस क्रममा प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह कार्की, प्रदेश सभा सदस्य, उच्च पदस्थ सरकारी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा सुदूरपश्चिमका नौ वटै जिल्लाका २८ सय खेलाडीको सहभागिता रहेको छ । 

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक बहादुर सिंहले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी सुदूरपश्चिम प्रदेशबाट ७ सय ७८ जना खेलाडी छनौट गरिने बताउनुभयो । छनौट प्रतियोगिताका खेलहरू धनगढी र महेन्द्रनगरमा सञ्चालन हुने उहाँले बताउनुभयो ।  छनौट भएका खेलाडीहरूले विभिन्न ६१ विधाको खेलमा सहभागिता जनाउने छन् । 

प्रदेश छनौट प्रतियोगितामा महिला र पुरुष गरी ३१ खेल हुने छन् । छनौट खेल फागुन २ गतेसम्म सञ्चालन हुनेछ।

प्रदेश छनौट प्रतियोगितामा प्रथम मेडल सङ्ख्या ३ सय ३२, द्वितीय मेडल सङ्ख्या ३ सय २०, तृतीय मेडल सङ्ख्या ४ सय ५६ गरी १ हजार १ सय ९८ जम्मा मेडल सङ्ख्या रहेको जनाएको छ । प्रदेश छनोटका लागि ५ करोड २० लाख बढी खर्च हुने प्रदेश खेलकुद परिषद् कार्यालयले जनाएको छ ।

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा आगामी चैत्र २३ गतेदेखि हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button