तपाईँ सुन्दै हुनुहुन्छः

हास्यव्यङ्ग्यकार लुइँटेल कालीगण्डकी साहित्य परिषदद्वारा सम्मानित                                            

चितवन । कालीगण्डकी साहित्य परिषद् चितवनको आयोजनामा हास्यव्यङ्ग्य स्रष्टा सम्मान, रचना वाचन र चिरञ्जीवी दाहालको व्यङ्ग्य निबन्ध सङ्ग्रह “बाघेझापु” माथि विमर्श कार्यक्रम सम्पन्न भयो ।

चितवनको कालिका नगरपालिका स्थित सिद्धिविनायक आवासीय माध्यमिक विद्यालयको सभा हलमा सम्पन्न कार्यक्रममा हास्यव्यङ्ग्यकार एवं फित्कौली डटकम अनलाइन पत्रिका, फित्कौलीको खित्कौली युट्युब च्यानल र फित्कौली द्वैमासिक पत्रिकाका सम्पादक नरनाथ लुइँटेललाई सम्मानित गरियो । कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी एवं सभापति पौडेलले संयुक्त रूपमा दोसल्ला ओढाई सम्मान पत्रद्वारा विभूषित गरिएको हो ।

साहित्य परिषद्का सभापति गणेश शर्मा पौडेलको सभापतित्व तथा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा महाकाव्यकार केशवराज आमोदी, गजलकार ऋषिप्रसाद लामिछाने (गोर्खे साहिँलो), आख्यानकार गोकर्ण मल्ल विशिष्ट अतिथि हुनुहुन्थ्यो ।

सो अवसरमा नगरप्रमुख रेग्मीले साहित्य कला र संस्कृतिको उन्नयनका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा चिरञ्जीवी दाहालको हास्यव्यङ्ग्य कृति बाघेझापुका विषयमा केशवराज आमोदीले तयार गर्नु भएको समीक्षा कवि दुर्गा पौडेलले प्रस्तुत गर्नु भएको थियो।

समारोहमा सम्मानित व्यक्तित्व नरनाथ लुइँटेलको व्यक्तित्व र कृतित्वका बारेमा परिषद्का उपसभापति चिरञ्जीवी दाहालले प्रकाश पार्नुभएको थियो भने सम्मानित व्यक्तित्व नरनाथ लुइँटेलले आफ्ना हास्यव्यङ्ग्य रचना प्रस्तुत गर्दै उपस्थित जनसमुदाय बीच हास्यव्यङ्ग्य के हो रु र हास्यव्यङ्ग्य कसरी लेखिन्छ भन्ने विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा केशवराज आमोदी, ऋषिप्रसाद लामिछाने र गोकर्ण मल्लले पनि सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रममा चितवनका कवि तथा साहित्यकार केशवराज आमोदी, गोर्खे साइँलो, राजेन्द्र घायल, कमल अर्याल, गरिमा लुइँटेल, रामकृष्ण ढकाल, हेमा अर्याल, रुविन पौडेल, विष्णु पौडेल, टिकाराम रिजाल, सूर्य तिवारी लगायतले हास्यव्यङ्ग्य रचना वाचन गर्नु भएको थियो ।

कार्यक्रममा परिषद्का उपाध्याय रामलाल कुमालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण परिषद्का उपसभापति चिरञ्जीवी दाहालले गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button