तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुरमा आजदेखि अन्तरपालिका सितोरियो कराँते प्रतियोगिता

चितवन । भरतपुरमा आजदेखि प्रथम अन्तरपालिका आमन्त्रित सितोरियो कराँते प्रतियोगिता सुरु हुँदै छ। नेपाल सितोरियो कराँते संघ भरतपुर महानगर समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो।

दुई दिन चल्ने प्रतियोगितामा बागमती, गण्डकी र मधेश प्रदेशका १४ पालिकाबाट खेलाडीहरू सहभागी हुनेछन्। १४ पालिकाबाट दुई सय १० खेलाडी प्रतिस्पर्धा गर्नेछन्, नेपाल सितोरियो कराँते संघ भरतपुर महानगर समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिनुभयो।

गुरुङका अनुसार पुरुष ११२ र महिला ९८ जना खेलाडीहरू प्रतियोगितामा सहभागी हुनेछन्। उनीहरूले १५ विधामा १५ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन्। जसमा पुरुषतर्फ ८ तथा महिलातर्फ ७ स्वर्ण रहेका छन्। पहिलो हुने पालिकाले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्ने गुरुङले बताउनुभयो।

यस्तै, अनुशासित टिमले ५ हजार र महिला-पुरुषतर्फ उत्कृष्ट खेलाडीले जनही ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। भरतपुर ४ को वडा कार्यालयले पुरस्कार सौजन्य गरेको गुरुङले बताउनुभयाे।

भरतपुर महानगरपालिका र चितवन जिल्ला खेलकुद विकास समिति प्रवद्र्धक रहेको प्रतियोगितामा नेपाल सितोरियो कराँते संघ चितवनले प्राविधिक सहयोग गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button