तपाईँ सुन्दै हुनुहुन्छः

पर्साबाट ३ दिनमा १८ जना फरार अभियुक्त पक्राउ

वीरगंज । पर्सा प्रहरीले फैसला कार्यान्वयन विशेष अभियानअन्तर्गत विभिन्न मुद्दामा संलग्न भई फरार रहेका १८ जना अभियुक्तलाई पक्राउ गरी अदालतमा पेस गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले माघ १९ देखि  २१ गतेसम्म कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरूलाई विशेष प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको जानकारी दिनुभयो । 

पर्सा जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसलाहरू कार्यान्वयन गर्ने क्रममा प्रतिवादीहरू पक्राउ परेको डिएसपी लम्सालले बताउनुभयो । फरार रहेका व्यक्तिहरूलाई खोजी गर्दै प्रहरीले अभियान तीव्र बनाएको थियो । पक्राउ परेका लाई अदालतमा पेस गरिएको छ ।

प्रहरीले फैसला कार्यान्वयनको क्रममा कानुनी प्रक्रियालाई मजबुत बनाउन निरन्तर प्रयास गरिरहेको जनाएको छ । फरार प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउन आगामी दिनहरूमा समेत निगरानी र खोजी अभियानलाई अझ प्रभावकारी बनाइने प्रहरीको डिएसपी लम्सालले बताउनुभयो । 

यस क्रममा स्थानीय प्रहरी तथा मातहतका निकायहरूले समन्वय गर्दै फैसला कार्यान्वयन विशेष टोली परिचालन गरिएको छ । अदालतका फैसलाहरू कार्यान्वयन नहुँदा कानुनी शासन प्रभावकारी बन्न नसक्ने भएकाले यस अभियानले न्याय सम्पादनलाई बल पुर्‍याउने विश्वास गरिएको छ ।

प्रहरीले आम नागरिकलाई कानुनी प्रक्रियामा सहकार्य गर्न आग्रह गर्दै, फरार प्रतिवादीहरूको सूचना दिए अपराध नियन्त्रणमा सहयोग गर्न अपिल समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button