तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकको आर्थिक सुधारमा उल्लेखनीय प्रगति हासिल भएको छ : उपप्रधानमन्त्री पौडेल 

विराटनगर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा एमाले र नेपाली कांग्रेसको सहकार्यमा बनेको वर्तमान गठबन्धनको सरकार आगामी २०८४ को निर्वाचनसम्म कायम रहने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै  उपप्रधानमन्त्री पौडेलले अहिलेको सरकार विशेष परिस्थितिमा बनेकाले अर्को निर्वाचन नभएसम्म यो सरकार कायम रहिरहने प्रष्ट पार्नुभयो । 

यो सरकार गठन भएपछि जनतामा ठुलो आशा पलाएकाले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउनेहरुले सरकार परिवर्तन र फेरबदलको हल्ला चलाएको र सो हल्ला निराधार भएको उहाँले बताउनुभयो । 

गठबन्धनको सरकार बनेपछि मुलुकको आर्थिक सुधारमा उल्लेखनीय  प्रगति हासिल भएको चर्चा गर्नुहुँदै उपप्रधानमन्त्री पौडेलले चालु आर्थिक वर्षको पुँजीगत खर्चमा समेत सकारात्मक सुधार आउने बताउनुभयो । 

मुलुकका हरेक प्रकारका आर्थिक सूचक सन्तोषजनक अवस्थामा रहेकाले केही महिना मै मुलुकले आर्थिक प्रगतिको लक्ष्य हासिल गर्ने उहाँको भनाई थियो । अर्थमन्त्री पौडेलले तस्करी, कालोबजारी, भ्रष्टाचार नियन्त्रणमा जोड दिँदै सुशासन कायम गर्नेतर्फ सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो । 

सरकारले लामो समयदेखि निर्माण व्यवसायीहरूको रोकिएको रकम भुक्तानी गरेको र बक्यौता रहेको दुग्ध किसानहरुले पाउनुपर्ने सबै रकम किसानले चाँडै पाउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button