आगामी दशक आन्तरिक रोजगार प्रवर्द्धन दशकको रुपमा मनाइने: मन्त्री भण्डारी
जनकपुरधाम । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सीप बिना रोजगार सम्भव नरहेको बताउनु भएको छ ।
वैदेशिक रोजगार बोर्डको आयोजनमा शुक्रबार महोत्तरीमा भएको सुरक्षित वैदेशिक रोजगारीका विविध विषयमा सरोकारवाला निकायहरू सँगको अन्तरक्रिया कार्यक्रममा उहाँले कुनै पनि देशमा मात्रै सरकारले रोजगार दिएको अवस्था नरहेको बताउनु हुँदै रोजगारलाई सीपसँग जोड्न सके मात्रै रोजगारी समस्याको अन्त्य हुने बताउनुभयो । अहिले देशमा निर्माणको क्षेत्र होस्, गहनाको कारीगरी, विकास निर्माणमा उपयोग हुने सामाग्रीहरू अहिलेपनि बाहिरैबाट ल्याउनुपर्ने बाध्यता रहेको मन्त्री भण्डारीले बताउनुभयाे।
उहाँले आगामी महिनामा राष्ट्रिय स्वरोजगार श्रम तथा रोजगार सम्मेलन गरेर आगामी दशककालागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा मनाउने र मुलुकमा रहेका रोजगारीका अवसरहरूको सम्बन्धमा छलफल गर्ने बताउनुभयो । जबसम्म मुलुकमा आन्तरिक रोजगारी सिर्जना हुँदैन तबसम्म वैदेशिक रोजगारीको बाध्यतालाई रोक्न सकिँदैन त्यसैले यसलाई मर्यादित, व्यवस्थित ,सुरक्षित बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।
मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल कुमार रायले वैदेशिक रोजगारीमा जानेहरुकालागि मधेश प्रदेश सरकारले सीप र त्यहाँ बोलिने भाषाको तालिम कार्यक्रमको आयोजना गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँले सीपबिना र भाषाको ज्ञान बिना वैदेशिक रोजगारीमा जानेहरूले दुःख खेपिरहेकाले तालिमको व्यवस्था गरिएको बताउनुभयो ।
कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, वैदेशिक रोजगार बोर्डका निर्देशक डा। द्वारिका उप्रेती, मधेश प्रदेशका विभिन्न जिल्लाका जनप्रतिनिधि, रोजगार संयोजक, सामी, रेमी कार्यक्रमका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्