तपाईँ सुन्दै हुनुहुन्छः

तमोर करिडोरमार्फत गाडी टिप्ताला पुग्यो

फुङ्लिङ (ताप्लेजुङ)। चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलिदिएको छ । तमोर करिडोरको मर्मतपश्चात कच्ची सडकमार्ग हुँदै टिपतालासम्म जीप, ट्रयाक्टरलगायत सवारीसाधन नियमित रूपमा पुग्न थालेका छन् ।

टिपताला क्षेत्रको सहज पहुँचले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको छ । फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाका अनुसार सडक मर्मतसँगै अहिले धेरै यात्रु टिपताला क्षेत्र भ्रमण गर्न सवारीमार्फत आउन थालेका छन् । पहिले कठिन यात्राका रूपमा लिइने यो खण्डमा अहिले सहज रूपमा सवारीसाधन चल्न थालेपछि आन्तरिक पर्यटकको आगमन बढेको छ ।

फक्ताङलुङ गाउँपालिका–६ को लेलेप र ७ को ओलाङचुङ्गोला हुँदै टिप्तालासम्मको खण्डमा खाल्डाखुल्डी पुर्ने, ह्युमपाइप राख्ने र नदी तथा खोल्साका भागलाई मर्मत गरिएपछि सवारी सञ्चालन सम्भव भएको हो । फुङ्लिङबाट टिपताला पुगेर फर्किने यात्रा अब तीन दिनमा सम्भव भएको छ । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाको नेतृत्वमा गएको व्यवसायीको टोलीले तीन दिनभित्रै फुङ्लिङ–टिप्ताला ओहोरदोहोर गरेको छ । अध्यक्ष थापाका अनुसार यो खण्डमा नियमित व्यापारिक गतिविधि सञ्चालन गर्न सकिने सम्भावना बढेको छ । पानी र हिलोको समस्या केही ठाउँमा भए पनि समग्र यात्रा सहज छ ।

ओलाङचुगोलासम्म नियमित यातायात सञ्चालन भइरहेको फक्ताङलुङ गाउँपालिकाका कार्यपालिका सदस्य तथा ओलाचुङगोलाका स्थानीय फुपुल्हमु श्रेष्ठका अनुसार पहिले आवश्यक सामग्री ढुवानी गर्न ठूलो खर्च हुन्थ्यो, अहिले गाउँमा गाडी आइपुग्छ सहज भएको छ ।

वडाध्यक्ष शेर्पाका अनुसार सुक्खा मौसममा मात्र सवारीसाधन सञ्चालन सम्भव भए पनि यदि तमोर नदीका मुख्य भागमा पक्की पुल निर्माण गरियो भने बर्खामा पनि सहज आवागमन हुनसक्छ । वडाध्यक्ष शेर्पाले भन्नुभयो, “सुकेपानी, जोङ्गिन र फेदी क्षेत्रमा पुल बनेपछि सधैँभरि टिप्ताला पुग्न सम्भव हुनेछ ।”

फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार सुकेपानीमा बेलिब्रिज निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको छ । जोङ्गिन र ओलाङचुङ्गोलाका क्षेत्रमा मोटर गुड्ने पुल निर्माण भएमा टिप्ताला क्षेत्र पर्यटन र व्यापारको केन्द्रविन्दु बन्न सक्छ । तिब्बतको डिङ्जी काउन्टी सरकार र ताप्लेजुङका सुरक्षा अधिकारीबीच भएको बैठकले पनि यस क्षेत्रमा थप अवसर सिर्जना गर्न सक्ने सङ्केत गरेको छ ।

तिब्बत सरकारले टिपतालाबाट फुङ्लिङसम्मको सडक कालोपत्र गरिदिन इच्छुक रहेको जनाएपछि सरकारले प्रस्ताव अघि बढाउने तयारी गरेको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार सरकार–सरकार सहकार्यमार्फत प्रस्ताव आएमा तिब्बतले सडक कालोपत्र गर्ने वचन दिएको छ । टिपतालासम्म सवारीसाधन सञ्चालनले ताप्लेजुङका दुर्गम क्षेत्रको विकास र सम्भावनालाई उजागर गरेको छ । सडक मर्मत, पुल निर्माण र अन्तरदेशीय सहकार्यले यो क्षेत्र पर्यटन र व्यापारिक केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button