चिसोका कारण बाँकेको जनजीवन प्रभावित
बालबालिका, वृद्धवृद्धा र सुत्केरी प्रभावित
बाँके । पश्चिम तराईमा चिसो बढेपछि बाँकेको नेपालगञ्ज लगायत क्षेत्रको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि शीतलहर, बाक्लो हुस्सुले गर्दा जनजीवन प्रभावित बनेको हो ।
अत्यधिक चिसोका कारण यहाँका सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गइरहेको छ भने स्थानीय कामका लागि बाहिर निस्कन सकिरहेका छैनन् । चिसोबाट बच्न स्थानीय दिनभर आगो ताप्नुका साथै न्यानो लुगाको जोहो गर्न थालेका छन् ।
निरन्तरको चिसो, कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण वातावरण बिग्रेर मानिस, चौपाया पशु, पक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले बाँके जिल्लाको सदरमुकाम नेपालगन्ज सहित जिल्लाको शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासी बाक्लो कुहिरोका कारण यातायातका साधन चढ्न छोडेका छन् ।
चिसोकै कारण विभिन्न किसिमका बिरामीको सङ्ख्यामा समेत वृद्धि भएको चिकित्सकहरूको भनाई छ । लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी प्रभावित भएका छन् । साथै आर्थिकरुपले कमजोर व्यक्तिसमेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेको भेरी अस्पतालका फिजिसियन डाक्टर पारस श्रेष्ठले बताउनु भयो ।
चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको डा। श्रेष्ठको भनाई छ । जाडोबाट बच्नका लागि ठाउँ ठाउँमा स्थानीयवासीले आगो बालेर ताप्ने गरेको देखिन्छ ।
प्रतिक्रिया राख्नुहोस्