रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेसहित २२ जनाविरुद्ध पुरक अभियोजन दर्ता
रुपन्देही । जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलनसम्बन्धी मुद्दाका आरोपीहरू माथि दुईवटा अभियोजन दर्ता भएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले पेश गरेको थप अभियोजन र पुरक अभियोजन जिल्ला अदालत रुपन्देहीले आज दर्ता गरेको हो ।
अदालतले सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु राई (जीवी) सहित १७ जनाविरुद्ध थप अभियोजन र गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध पुरक अभियोजन दर्ता गरिएको अदालतका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिनुभयो ।
दुवै मुद्दा आज साँझ ५ बजेतिर मात्र दर्ता भएको श्रेस्तेदार ज्ञवालीले जानकारी दिनुभयो । थप अभियोजनको दर्ता नम्बर ०८१ सी वान ०५३२ र थप अभियोजनको दर्ता नम्बर ०८१ सी वान ०५३३ रहेको अदालतले जनाएको छ ।
वैशाख ३ गते दर्ता भएको मुद्दामा प्रतिवादी बनाइएका सुप्रिम सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु राईसहितका २८ जनाविरुद्ध वैशाखमा मुद्दा दर्ता भएको थियो ।
सुरु मुद्दामा सहकारी ठगीसम्बन्धी मात्र मुद्दा दर्ता भएकाले १७ जनालाई सङ्गठित अपराध पनि थप गरेर मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिनुभयो । रवि लामिछाने, छविलाल जोशीसहित जोडिएको पूरक जाहेरी अनुसारको अभियोजन पनि आजै दर्ता गरिएको हो । सुरु मुद्दाका २८ जनामध्ये १७ जनालाई थप सङ्गठित अपराध अभियोजन थप गरिएको र ११ जनालाई ठगीमै मुद्दा चल्ने उहाँको भनाइ छ ।
सरकारी वकिलको कार्यालयले मुल अभियोगमा ८६ करोड बढी, थप अभियोगमा २ करोड ७ लाख बढी र पुरक अभियोगमा ५५ करोड ५८ लाख बढी बिगो दाबी गर्दै मुद्दा दर्ता गरिएको जिल्ला न्यायधिवक्ता पौडेलले जानकारी दिनुभयो ।
सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको बताइएको छ । त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्