तपाईँ सुन्दै हुनुहुन्छः

फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा बर्दिया प्रहरी 

बर्दिया । बर्दिया प्रहरीले पछिल्लो समयमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरेको छ । कर्तव्य ज्यान मुद्दाको दोषी देखि सामान्य लेन देन मुद्दा प्रतिवादीहरू बर्दिया प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । 

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार चालु आर्थिक वर्षको पुष मसान्त सम्म एक सय ८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । बर्दिया अदालतबाट फैसला कैद भुक्तान गर्न बाँकी रहेका, जरिवाना तिर्न र पीडित राहत कोषमा रकम बुझाउन बाँकी रहेका फरार प्रतिवादीलाई पक्राउ गरिएको हो । फरार प्रतिवादीहरूलाई पक्राउ गरी बर्दिया अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक ऋषिराम घर्तिमगरले बताउनु भयो । 

पक्राउ परेका प्रतिवादीहरूबाट ७७ बर्ष दुई महिना एक दिन कैद भुक्तान गरिएको छ । त्यसैगरी एक करोड ८७ लाख ४४ हजार एक सय २६ रुपैयाँ ५० पैसा जरिवाना असुल गरिएको छ । भने दुई लाख ६ हजार सात सय रुपैयाँ पीडित राहत कोषमा रकम भराइएको छ । 

फरार प्रतिवादी मध्ये दुई जना कर्तव्य ज्यान मुद्दाका दोषीहरूबाट ४० बर्ष कैद भुक्ता गराइएको छ । त्यसैगरी एक जना जबरजस्ती करणी मुद्दाका दोषीबाट १२ बर्ष कैद सजाय भुक्तान गरिएको छ । 

त्यसैगरी फरार प्रतिवादीमा बैंकिङ्ग कसुरका ३, अंश मुद्दाका ६ जना,अभद्र व्यवहारका ६ जना चेक अनादारका २० जना, चोरीका १० जना, जालसाजीका ४ जना, लागुऔषध ब्राउन सुगर १८ जना, सवारी ज्यान मुद्दा ५ जना पक्राउ परेका छन् । फरार प्रतिवादी पक्राउ पर्नेमा सबै भन्दा बढी चेक अनादार मुद्दामा पक्राउ परेका छन्  । पुष महिनामा मात्र ३६ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अदालतले फैसला गरेका तर पक्राउ नपरेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियान सञ्चालन गरेको प्रहरी नायव उपरिक्षक घर्तिमगरले बनाउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button