सिद्धबाबा विद्यालयमा ‘लघु सङ्ग्रहालय’ स्थापना
गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयले ‘लघु सङ्ग्रहालय’ स्थापना गरेको छ । विद्यार्थीहरूलाई पढाइसँगै प्राचीन समयमा प्रयोग भएका सामाग्रीहरूको बारेमा जानकारी दिने उद्देश्यले लघु सङ्ग्रहालय स्थापना गरिएको हो ।
गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीलाई लोप उन्मुख वस्तुको जानकारी दिने उद्देश्यले विद्यालयमा ‘लघु सङ्ग्रहालय’ स्थापना गरेको छ । हाम्रा पुर्खाहरूले प्रयोग गरेका वस्तुहरूको सङ्ग्रह गरेर अहिले प्रयोगमा नभएका वस्तु बारेमा जानकारी गराउने उद्देश्यले यस्तो खालको सङ्ग्रहालय स्थापना गरिएको हो । सङ्ग्रहालयबाट पुरा कला संस्कृतिबारे ज्ञान लिन पाउँदा विद्यार्थी उत्साहित छन् ।
सङ्ग्रहालयमा विभिन्न क्रियाकलापका तस्बिरहरू, विद्यार्थीले निर्माण गरेका हस्तकलाका सामाग्रीहरू, विद्यालयका ऐतिहासिक तस्बिरहरू, गाउँघरमा काठबाट बनेका सामाग्रीहरू सङ्ग्रहालयमा राखिएको छ । विद्यार्थीहरूलाई पुराना वस्तु र प्रविधिहरूसँग परिचित गराउने उद्देश्यले लघु सङ्ग्रहालय स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीसले बताउनुभयो ।
विद्यालयले छुट्टै कोठामा व्यवस्थित रुपमा स्थापना गरेको सङ्ग्रहालयमा माना पाथी, टुकी, बत्ती, ठेका, मदानी, डोको नाम्लो, डाला, फुगो, माना, तराजु ढक कुँचो, गुद्री, मालन, लालटिन, हुक्का, आरी हाडी, मटुलो, पुराना जमानका पैसा राखिएको छ ।
त्यस्तै खुकुरी सिलौटो, लोहोरो, प्राचीन बाध्य वादनका सामाग्रीहरू रहेका छन् । ती सामाग्रीहरूको प्रयोग बारेमा विद्यार्थीहरूलाई चिनाउने काम विद्यालयले गर्ने गरेको छ । प्राचीन समयमा अत्यन्तै महत्वपूर्ण सामाग्रीहरू अहिले प्रयोगमा नआएकाले त्यसको संरक्षण र जानकारी दिने काम सङ्ग्रहालयबाट हुने गरेको छ । विद्यालयले विद्यार्थीहरूलाई किताबको ज्ञानकोसँगै गाउँका विभिन्न कलासंस्कृति बारे जानकारी र उनीहरूलाई सीप प्रदाने गर्ने उद्देश्य विद्यालयले राखेको छ ।
प्रतिक्रिया राख्नुहोस्