बाँकेमा एक महिनामै ६५ जना फरार प्रतिबादी पक्राउ
नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले पुस महिनामा मात्रै ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध गरी लामो समयदेखि फरार रहेर १९ वर्ष ४ महिना २७ दिन कैद र ५१ लाख ५५ हजार १३ रुपैयाँ जरिवाना असुल उपर गर्न बाँकी रहेका ६५ फरार प्रतिवादीलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । फरार प्रतिवादीहरूलाई जिल्ला प्रहरी बाँकेको फैसला कार्यान्वयन टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
त्यसैगरी १२ लाख ९४ हजार १५८ रुपैयाँ बराबरको भारतबाट अबैधरुपले भन्सार छली गरेर ल्याइँदै गरेको अवैध सामान जिल्ला प्रहरी बाँकेले बरामद गरेको छ ।जिल्ला प्रहरी बाँकेमा दर्ता भएका १ सय १७ वटा मुद्दामा १ सय २१ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याउँदा ५३ वटा पेण्डिङ मुद्दाहरू फर्छ्यौट गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दर्ता भएका ६८१ ठाडो उजुरीतर्फ ६६८ फर्छ्यौट भएको र १३ वटा बाँकी निवेदन फर्छ्यौट प्रक्रियामा रहेका छन् ।
यस्तै पुस महिनामा लागू औषधतर्फको कारबाहीमा २६८ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम ८ ट्याब्लेट र ट्रामाडोल ३६७ ट्यावलेटसहित २९ जना ओसारपसार कर्ताहरूलाई पक्राउ गरिएको छ ।
त्यस्तै जिल्लाभरमा गरिएको ट्राफिक कारबाहीतर्फ ३ हजार ५७ वटा सवारीसाधनलाई कारबाही गर्दै २४ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ भने अबैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ७ वटा ट्याक्टर, एउटा टिप्पर र एउटा जेसीबीलाई नियन्त्रणमा लिएर ४८ हजार ८ सय रुपैयाँ जरिवाना गरेको प्रहरीले जानकारी दिएको छ । सोही दौरानमा तीन जना चालकलाई नियन्त्रणमा लिएर
अभद्र व्यवहार मुद्दामा कारबाही गरिएको छ ।
त्यसैगरी बाँके प्रहरीले विभिन्न स्थानबाट हराएका तथा चोरी भएका ४ वटा मोटरसाइकल र १० वटा स्मार्ट मोबाइल फोन फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको जानकारी दिएको छ भने जानकी गाउँपालिकामा जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएका महिला तथा बालबालिकासँग सम्बन्धित १३ मुद्दातर्फ १६ जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याइएको थियो भने घरेलु हिंसा सम्बन्धि ५० वटा उजुरीमा ४७ वटा फर्छ्यौट भएको तथा बाँकी अनुसन्धान प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
प्रहरीले हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धि ४४ निवेदनमा ३२ जनालाई फेला पारेर घरपरिवारको जिम्मा लगाउँदा बाँकी खोजतलासको क्रममा रहेको जानकारी दिएको छ ।
समुदाय प्रहरी सहकार्य लगायतका गतिविधि अन्तर्गत जिल्ला प्रहरीले बाँकेले ६३ वटा सचेतनामूलक कार्यक्रम गरेको छ । जसमा लैङ्गिक हिंसा, लागूऔषध सम्बन्धि सचेतना, आत्महत्या सम्बन्धी सचेतना, अल्पसङ्ख्यकसँग प्रहरी, नागरिक सुनुवाई, शीतलहर सचेतना र चोरी सम्बन्धि सचेतना लगायतका कार्यक्रम सञ्चालन गरेको बाँके प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी जिल्लाभरमा ट्राफिक प्रहरीले २ सय २ वटा सचेतनामूलक कार्यक्रम गरेको थियो । सचेतना कार्यक्रम अन्तर्गत लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइट लगायत रहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।
यसैगरी प्रहरीभित्रको आन्तरिक सुदृढीकरण प्रयासतर्फ जिल्लाभरको २०८१ पुसको उत्कृष्ट प्रहरी इकाई अफ द मन्थ प्रहरी चौकी राधापुर घोषित भएको हो भने जिल्ला प्रहरी कार्यालयभित्रको बाटो मर्मत, रङरोगन तथा कार्यालय परिसर मर्मत तथा सौन्दर्यीकरण गरी सेवाग्राहीमैत्री वातावरण तयार पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्