तपाईँ सुन्दै हुनुहुन्छः

इलामको माई र जोगमाई खोलाको दोभानमा माइबेनी मेला (फाेटाे फिचर)

इलाम । माइजोगमाई गाउँपालिका, इलाम नगरपालिकाको बीचमा पर्ने माई र जोगमाई खोलाको दोभानमा विगतका वर्षमा जस्तै यस पटक पनि माइबेनी मेला लाग्ने गरेको छ । धार्मिक क्षेत्र माईबेनीमा दर्शनार्थीको भीड लागेको छ । ऐतिहासिक धार्मिक तथा सांस्कृतिक मेलाको रुपमा लाग्दै आएको मेला   यस बर्ष पुस २७ देखि माघ ३ सम्म  आयोजना गरिएको आयोजक समितिका अध्यक्ष सनमान लिम्बुले बताउनु भयो ।

मेलामा  छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्रथुम तथा सीमावर्ती भारतको दार्जिलिङ, सिक्किम लगायतका स्थानबाट सहभागी भएको आयोजकले जनाएको छ । मकर स्नान, शिव मन्दिरमा  पूजाआजा ,विभिन्न खेल,  रमाइलो मेला, स्थानीय कृषि उपजका स्टल तथा स्थानीय खानका परिकार मेलामा  मुख्य आकर्षणको रुपमा रहेको आयोजकले जनाएको छ ।

मकर स्नान र मेला भर्न परिवार सहित आएको र रमाइलो अनुभव भएको  मेलामा सहभागी इलाम नगरपालिका ४  कि कमला राईले बताउनुभयो ।

माइवेनी मेला भर्न आउनेको भिडसँगै स्थानीय स्तरमा उत्पादन हुने उखु र सुन्तलाको धेरै किनबेच भएको छ । माईबेनी मेलामा विक्री गर्न स्थानीयले कृषि उपज साँचेर राख्ने गरेका छन् । यस पटक मेलामा प्रतियोगितात्मक कृषि प्रदर्शनी गरिएको थियो । पहिले पहिले माईबेनी मेलामा जानेले  उखु किनेर   लौरो बनाएर टेक्दै घर फर्किने चलन थियो । अचेल सवारीसाधनको प्रयोग बढे पछि यस्तो दृश्य कमै मात्र देखिन्छ ।

माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ मानिसहरू यस स्थानमा मेला भर्न र मकर स्नान गर्न आउने गर्दछन् । बर्षौ देखि धार्मिक आस्थाको केन्द्रको रुपमा माईबेनी मेला लाग्ने गरेकोले धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नु पर्ने मेलामा सहभागी गोपाल निरौलाले बताउनु भयो ।

इलाम जिल्लाको माईजोगमाई गाउँपालिका र इलाम नगरपालिका अन्तर्गत माईबेनीमा यो मेला वर्षौँअघिदेखि लाग्दै आएको हो । गजराजसिंह थापा इलाममा बडाहाकिम भई आए पछि १९२० तिर देखि यहाँ मेला लाग्दै आएको जानकारहरू बताउँछन्  । 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button